गोविन्दराज जोशीको राजनीतिक ‘अवसान’

डिसी नेपाल
९ मंसिर २०७९ १२:४१

काठमाडौैं। तनहुँमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउने ‘एकसूत्रीय’ एजेण्डा बोकेर निर्वाचनमा होमिएका गोविन्दराज जोशी केवल ६ हजार ७ मत ल्याउँदै पराजित भएका छन्।

विजयी पौडेलले २५ हजार ३१३ र दोस्रो भएका एमालेका एकबहादुर राना मगरले १९ हजार ९२५मत ल्याउँदा जोशी तेस्रो मात्र हुन सके। यससँगै उनको राजनैतिक करिअरको लगभग अवसान भएको छ।

कुनै समय कांग्रेसको सहमहामन्त्री, २०५६ को निर्वाचन पछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री र स्थानीय विकास मन्त्री त्योभन्दा पहिले २०४८ देखि २०५१ सम्म शिक्षा, संस्कृति तथा समाजकल्याण मन्त्री रहेका जोशीको राजनीति अब समापन उन्मुख छ।

जिल्लामा स्थापित गोविन्दराज जोशी र केन्द्रमा स्थापित बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहक्षेत्र एउटै हो। एउटै क्षेत्रका राजनीतिज्ञ र एउटै पार्टीका आबद्ध भए पनि पौडेल र जोशीको सम्बन्ध भने कहिल्यै सुमधुर रहेन।

पञ्चायतकालमा भूमिगत राजनीति गर्ने बेला २०२७ मा भद्रगोल जेलमा, २०३६ मा पोखरा जेलमा र २०४२ मा गोरखा जेलमा यी दुई सँगै रहे। केही समय दमौली जेलमा पनि यी दुई एकसाथ थुनामा थिए।

तर बहुदलीय व्यवस्थाको पुनर्बहालीपछि खुला राजनीतिमा भने यी दुईको सम्बन्ध सधैं तिक्ततापूर्ण रह्यो। खुला राजनीतिको सुरुवातसँगै पौडेल कांग्रेसको केन्द्रमा स्थापित भए। पार्टीको केन्द्रीय निर्णयहरुमा पौडेलको प्रभाव चल्थ्यो। उता जोशी जिल्लामा मतदातासँग नजिक थिए।

५ वर्षअघि उनको सहयोगमा जितेका किसान श्रेष्ठले पौडेलले भन्दा ६ हजार ८ सय मत बढी पाएका थिए। अहिले जोशीले कूल मत त्यही ६ हजार ८ सय मत मात्रै पाए। यो हारसँगै जोशीको राजनीतिक करियरमा ब्रेक लागेको छ

मतदातासँग नजिक भएकै कारण उनले २०४८ मा तनहुँ २ बाट चुनाब जितेका थिए। २०५१ र २०५६ मा उनले तनहुँ १ बाट चुनाब जिते। यो अवधिमा जोशी क्षेत्र नं. २ बाट चुनाब लड्दा पौडेल १ बाट लडे भने जोशी १ बाट लड्दा पौडेल २ बाट लडे। र, जोशीले हरेक चुनाबमा पौडेललाई जित्न सघाए।

तर, पौडेलले सधैं जोशीलाई आफ्नो प्रतिस्पर्धी ठान्ने र केन्द्रमा पहुँचबाट बञ्चित पार्ने गरेको जोशीको बुझाइ रह्यो। अन्ततः यसले जोशीलाई पौडेललाई हराउने एकसूत्रीय एजेण्डामा केन्द्रित गर्‍याे।

जोशीमाथि भ्रष्टाचारको आरोप लागेपछि उनलाई पार्टीबाट पनि अवसर नदिने खेल सुरु भयो। पार्टीभित्रबाट अवसर नदिने खालका कामहरु पौडेलको दबाबमा भएको जोशीको बुझाइ रह्यो।

यही कारण २०७४ को प्रतिनिधि सभा निर्वाचनमा जोशी पौडेलविरुद्ध बागी उम्मेदवार बने। तर, जोशीमाथि लागेको भ्रष्टाचारको आरोपमा उनी दोषी ठहर भएको र सजाय पाएको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी बदर गरिदियो।

उम्मेदवारी बदर पौडेलकै सक्रियतामा भएको थियो। यसबाट जोशी झनै बिच्किए र पार्टीसँग विद्रोह गर्दै पौडेलका प्रतिस्पर्धी एमालेका किसान श्रेष्ठलाई जिताउन महत्वपूर्ण भूमिका खेले। अहिलेको निर्वाचनमा पनि जोशीले स्वतन्त्र उम्मेदवारी दिए।

अहिले भने जोशीले आफूमाथिको मुद्दामा पुनरावेदन गरेका थिए। यही कारण उनको मुद्दा अदालतमा विचाराधीन भएकोले उनको उम्मेदवारी कायम रह्यो। तर, निर्वाचनमा उनको पक्षमा परिणाम आउन सकेन र उनी तेस्रो भए।

रोचक संयोग यो रह्यो कि ५ वर्षअघि उनको सहयोगमा जितेका किसान श्रेष्ठले पौडेलले भन्दा ६ हजार ८ सय मत बढी पाएका थिए। अहिले जोशीले कूल मत त्यही ६ हजार ८ सय मत मात्रै पाए। यो हारसँगै जोशीको राजनीतिक करियरमा ब्रेक लागेको छ भने रामचन्द्र पौडेल फेरि एक पटक ‘देशको सेवा’ गर्ने इच्छा व्यक्त गर्ने अभिव्यक्ति दिन थालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *