मेलम्चीका बाढी प्रभावितहरूको नवनिर्वाचित जनप्रतिनिधिसँग आशा

डिसी नेपाल
११ मंसिर २०७९ २२:००

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ फट्टेका रामबहादुर दनुवारको घर सग्लै छ । यद्यपी उनको घरमाथि ठूलो पहिरो छ भने घर छेउमा खोला बग्छ । हिँउदमा बस्न सक्ने भए पनि वर्षा सुरु भएसँगै घर छोडेर भाग्नुपर्ने बाध्यता उनको छ ।

रामबहादुरको जस्तै मेलम्ची र हेलम्बु पाँचपोखरीबासीको पीडा उस्तै छ । उनीसँगै अन्य बाढी प्रभावितले पनि मेलम्चीमा होटल सञ्चालन गरेका छन् । असार नलाग्दै डरले अन्तै भाग्नुपर्ने बाध्यता रहेको स्थानीय धनबहादुर नेवार बताउँछन् । घर बनाएको छ महिना नपुग्दै उहाँको घर आएको बाढीले क्षति पु¥याएको थियो ।

उनीहरूसहित यहाँका बाढी प्रभावितहरूले नवनिर्वाचित जनप्रतिनिधिसँग नदी नियन्त्रण तथा बाढी प्रभावितको समस्या समाधान गर्न माग गरेका छन् । आफ्ना मागहरू नवनिर्वाचित जनप्रतिनिधिले पूरा गरिदिने उनीहरूको विश्वास छ ।

प्राकृतिक विपद्का हिसाबले सिन्धुपाल्चोक देशकै उच्च जोखिममा रहेको जिल्ला हो । विसं २०७८ असार १ र साउन १६ मा मेलम्ची तथा इन्द्रवाती नदीमा आएको बाढी प्रभावितले नयाँ नवनिर्वाचित सांसदले बाढी प्रभावितको समस्यामा साथ दिने अपेक्षा गरेका हुन् । निर्वाचनअघि नेताले गरेको प्रतिबद्धता पूरा गर्ने अपेक्षा यहाँका स्थानीयको छ ।

सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले जेठ नलाग्दै मेलम्चीमा पुल निर्माण गर्ने घोषणा गरेका छन् । उनले आफ्नो प्रतिबद्धताअनुसार मेलम्चीमा ‘बेली ब्रिज’ हाल्ने बताए । उनले सिन्धुपाल्चोकको विकास गर्ने जिम्मा आफूलगायत गठबन्धनको काँधमा आएको भन्दै अब योजनाबद्ध रूपमा विकासको काममा खट्ने बताए। उनले नदी नियन्त्रण तथा बाढी प्रभावितको बासका लागि आफ्नो पहल हुने बताए ।

सिन्धुपाल्चोक–२(१) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का नेता युवराज दुलाल शरद, प्रदेशसभा (२) बाट निर्वाचित कृष्णकुमार तामाङ समिरले पनि विजयी गराउने मतदातालाई धन्यवाद व्यक्त गर्दै जिम्मेवार भएर बाढी प्रभावितको समस्या समाधानसँगै विकासको काममा लाग्ने बताए। हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी बाढीले २६ जनाको ज्यान गएको थियो । ठूलो भौतिक सम्पत्ति क्षति भएको थियो । पाँच सय ५१ घर बगाएको थियो । पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुल र ३३ सार्वजनिक संरचना ध्वस्त भएको थियो ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेज शेर्पाले केही बाढी प्रभावितको स्थायी आवाश निमार्णका लागि पहिलो किस्ता ५० हजार लाभग्राहीको खातामा आइसकेको बताउँदै अब पुनःनिमार्णको कामले गति लिने बताए । उनले हेलम्बुका केही झोलुङ्गे पुल निर्माण थालिएको र केही प्रक्रियामा रहेको बताए ।

पाँच लाखले प्रभावितको घर निर्माण गर्न नसकिने भएकाले रकम थप गर्न अध्यक्ष शेर्पाले सरकारसँग माग गरे । मेलम्चीका पनि केही प्रभावितको खातामा रकम जम्मा भएको र केहीको हुने क्रममा रहेको नगरपालिकाले जनाएको छ । सरकारले बाढी प्रभावितलाई स्थायी आवासका लागि पाँच लाख तथा जग्गा नभएकालाई थप तीन लाख दिने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *