साउदी युवराज मोहम्मद बिन सलमानले संसारकै सबैभन्दा ठूलो विमानस्थल निर्माणको घोषणा गरे

डिसी नेपाल
१३ मंसिर २०७९ १३:१६
316
Shares

काठमाडौं। साउदी अरबका युवराज मोहम्मद बिन सलमानले रियाद विमानस्थललाई प्रमुख उड्डयन केन्द्रमा परिणत गर्ने घोषणा गरेका छन् । यसपछि यो विमानस्थलबाट १२ करोड यात्रुले यात्रा गर्न सक्नेछन् ।

साउदी अरेबियाको आधिकारिक प्रेस एजेन्सी एसपीएका अनुसार विमानस्थलको रुपान्तरणको काम सन् २०३० सम्ममा सम्पन्न हुने बताइएको छ । साउदी अरेबियाको सार्वभौम सम्पत्ति कोष (पब्लिक इन्भेस्टमेन्ट फण्ड अर्थात पिआइएफ) लाई यो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मेवारी दिइएको छ ।

यद्यपी यो विमानस्थल निर्माण गर्न कति खर्च लाग्ने हो भने खुलाइएको छैन । यो विमानस्थल ५७ वर्ग किलोमिटर अर्थात ५ हजार ७ सय हेक्टर क्षेत्रमा निर्माण हुनेछ । हालको किंग खालिद विमानस्थल पनि यसमा समावेश हुनेछ ।

सन् २०३० सम्ममा यातायात र लजिस्टिक हब बन्ने सरकारको रणनीतिको एउटा महत्वपूर्ण हिस्सा उड्डयन हो। रियाद एयरपोर्टलाई नयाँ एयरलाइन्स आरआईएको सञ्चालनको केन्द्र बनाइने भएको छ।

वास्तवमा, साउदी अरेबियाले अब आफ्नो अर्थतन्त्रको तेलमा निर्भरता कम गर्न आफ्नो भिजन २०३० मा ट्रिलियन डलर लगानी गरिरहेको छ। राजकुमार मोहम्मदले यो भिजन सुरु गरेका छन्।

एसपीएका अनुसार, “विमानस्थल परियोजना सन् २०३० सम्ममा रियादलाई विश्वको शीर्ष १० ठूला अर्थतन्त्रमा समावेश गर्ने रणनीतिको एक हिस्सा हो।” यहाँबाट २५० स्थानमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने लक्ष्य पनि छ ।

राजा सलमान विमानस्थलबाट करिब एक लाख तीन हजारले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएको दाबी गरिएको छ । सन् २०५० सम्ममा यस विमानस्थलबाट १८ करोड ५० लाख यात्रु र ३५ लाख टन कार्गो प्रशोधन गर्ने लक्ष्य छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *