बोतल फेरियो, रक्सी फेरिएन, वैकल्पिक शक्तितर्फको जनलहरलाई असफल पार्ने खेल सुरु

डिसी नेपाल
१४ मंसिर २०७९ ७:३०

काठमाडौं। भर्खरै भएको प्रतिनिधि सभाको निर्वाचनमा जनताको लहर वैकल्पिक शक्तितर्फ देखियो। मतदातालाई राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई बलियो शक्ति बनाए। पुराना पार्टी र तिनीहरुका पटक पटक अवसर पाइसकेका स्थापित नेताहरुलाई संसदबाट विस्थापित गरिदिए।

यो जनमतमो प्रस्ट सन्देश थियो-पटक पटक टेस्टेड नेतालाई पाखा लगाएर नयाँ र सक्षम व्यक्तिलाई देशको नेतृत्व दिनुपर्छ। तर, चुनाब जितेसँगै यो जनमतलाई पाखा लगाएर नयाँ बोतलमा पुरानै रक्सी भर्ने खेल सुरु भइसकेको छ।

चुनाबपछि सत्ताधारी गठबन्धनभित्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आगामी प्रधानमन्त्री बन्ने विषयमा अघोषित प्रतिस्पर्धा सुरु भएको छ।

पटक पटक प्रधानमन्त्री बनिसकेका यी नेताहरुलाई नेतृत्व दोस्रो पुस्तालाई सुम्पिने कुनै संकेत देखाएका छैनन्। यतिमात्र होइन पार्टीभित्रका सांसदहरु पनि यिनीहरुलाई पन्छाएर अर्को पुस्ता ल्याउनेतर्फ सकारात्मक देखिएका छैनन्।

कांग्रेसका महामन्त्री गगन थापाले यसपटक आफू प्रधानमन्त्री बन्ने घोषणा गरेका थिए। उनले यही नाराका साथ मत मागे र जिते। अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आफ्नो क्षेत्रमा मत माग्दा गगनलाई आफूले प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्ने बताउँदै उनलाई प्रधानमन्त्री बनाउनको लागि आफूलाई जिताइदिन आग्रह गरे। तर, कांग्रेसभित्र यी दुई महामन्त्रीको प्रयासलाई पार्टीका अरु सांसदले सघाउने संकेत गरेका छैनन्।

मंगलबार डिसीनेपालसँगको कुराकानीमा कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले ठूलो दलको हैसियतले आगामी सरकारमा कांग्रेसको दावी रहने बताउँदै अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने बताए।

अहिले उदाएका वैकल्पिक शक्तिहरुलाई सरकारमा समेट्नेतर्फ पुराना नेताले कुनै चासो देखाएका छैनन्। निर्णायक शक्तिका रुपमा उदाएको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी र नेतृत्व परिवर्तनपछि सशक्त रुपमा अगाडि आएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई महत्व दिइएको छैन। उनीहरुलाई सत्ता साझेदार बनाउनेतर्फ कुनै पहल गरिएको छैन। बरु गठबन्धनका शीर्ष नेताहरु पदको भागबण्डामा सक्रिय छन्। 

उनले भने ‘कांग्रेसमा संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ। दलको नेताको दावेदार सभापतिज्यू नै हो। दलको नेताको लागि चुनाबमा प्रतिस्पर्धा त गर्न पाइयो तर जितेर आउने उहाँ नै हो।’

महतको भनाइको अर्थ हो उनी फेरि पनि शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाउने पक्षमा छन्। उनले यसो भन्नु आश्चर्यको कुरा पनि होइन किनकि उनी स्वयं प्रत्यक्ष जनतामा जान डराएर समानुपातिकतर्फ खस आर्य समूहको पुरुष उम्मेदवारमा १ नम्बरमा बस्ने व्यक्ति हुन्।

उनी हार्ने डरले भागेका हुन् र अघिल्लो चुनाबमा उनले हारेको क्षेत्रबाट लडेका कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रभावशाली जित हात पारेका छन्। र, कांग्रेसको समानुपातिक सूचीमा यस्ता धेरै नाम छन् जो देउवाको राजनीतिमा पुस्तान्तरण चाहँदैनन् र उनीहरु नै समानुपातिबाट सांसद बन्ने लाइनमा छन्।

अघिल्लो चुनाबमा हारेका प्रकाशशरण महत मात्र होइन आरजु राणा देउवा, बिमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर पनि सुरक्षित हुन समानुपातिकमा भागेकाहरु हुन् र देउवाका विश्वासपात्र हुन्।

अघिल्लो चुनाबमा प्रत्यक्षमा हारेपछि यसपटक सांसद बन्ने चोबाटो खोज्दै समानुपातिकमा गएकाहरुलाई यो अवसर देउवाले नै जुराइदिएका हुन् जसको गुन उनीहरुले अवश्य तिर्नेछन् जुन अहिलेको जनलहरको विपरित हुनेछ।

अर्कोतर्फै अहिले उदाएका वैकल्पिक शक्तिहरुलाई सरकारमा समेट्नेतर्फ पुराना नेताले कुनै चासो देखाएका छैनन्। निर्णायक शक्तिका रुपमा उदाएको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी र नेतृत्व परिवर्तनपछि सशक्त रुपमा अगाडि आएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई महत्व दिइएको छैन।

उनीहरुलाई सत्ता साझेदार बनाउनेतर्फ कुनै पहल गरिएको छैन। बरु गठबन्धनका शीर्ष नेताहरु पदको भागबण्डामा सक्रिय छन्। र, सबैभन्दा लाजमर्दो कुरा त ती पदका लागि सबैभन्दा बलिया दावेदार उनै छन् जो पटक पटक असफल भइसकेका छन्।

सरकार गठनका लागि अहिले भइरहेको दौडधुप हेर्दा कोही पनि वैकल्पिक शक्तिलाई साथमा लिने पक्षमा देखिँदैनन्। तर, एउटा कुरा भने प्रस्ट छ-जब बहुमत पुग्दैन तब उनीहरु यिनै वैकल्पिक शक्तिको पाउ पर्न आउनेछन्।

अहिलेको निर्वाचनमा आएको जनमतले अब पुरानो शैली चल्दैन भन्ने देखाइसक्दा पनि नचेतेका र जब आफूलाई आवश्यक पर्छ तब मात्र खोज्न जाउँला भनेर वैकल्पिक शक्तिलाई बेवास्ता गरेका नेताहरुको सोच अझै परिवर्तन हुन सकेको छैन।

भर्खरै उदाएका वैकल्पिक शक्तिहरुलाई जसरी स्थापित नेताहरुले बेवास्ता गरिरहेका छन् यसले उनीहरुको अवसरवादी चरित्र अझै नसुध्रिएको देखाउँछ।

जब बहुमत पुग्दैन तब उनीहरुलाई फकाउन जाउँला, २-४ वटा मन्त्रालय दिएर लोभ्याउँला भन्दै बसेका यी नेताले यसपटक पनि उनीहरुलाई सम्मानजनक स्थान दिएनन् भने यो जनमत उनीहरुको पक्षमा टिकिराख्छ भन्ने अवस्था छैन। स्थापित नेताहरुले सोच्नैपर्छ–५ वर्षपछि फेरि चुनाब आउँछ जतिबेला मतदाताले यी नेताहरुको घण्टी होइन ढ्याङ्ग्रो बजाइदिनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *