हिउँदमा जिम्मुको व्यापार, बर्खालाई घरखर्चको जोहो

डिसी नेपाल
१५ मंसिर २०७९ १४:४६
464
Shares

बलेवा। नेपाल–चीन सीमा नजिकै उनको सानो घर छ। माटोको सहर लोमान्थाङदेखि दुई घण्टाको पैदल यात्रामा पुगिन्छ उनको गाउँ। बर्खाका केही महिना उनको परिवार त्यही घरमा बस्छ। तर हिउँदमा गाउँ बसिसक्नु हुन्न हिउँले। अबका केही दिनपछि घरका छानो नै छोप्न थाल्छ हिउँले।

त्यसैले मङ्सिर महिना नलाग्दै २८ वर्षीय कर्म भोटे परिवारसहित बेंसी झरेका छन्। मनभरि उनको घर छ, अबका केही महिना उनी घरमा हुदैनन्। लोमान्थाङ गाउँपालिका–२ मा रहेको आफ्नै दुःखले आर्जेको घर छ। तर हिउँले पुरिने गाउँमा रहेको उनको घर अब फागुन नलाग्ने बेलासम्म खाली रहन्छ। उनी र उनका गाउँले दाजुभाइ दिदीबहिनी कोही हुनुहुन्न अहिले घरमा। पछि एकैपटक फर्किन्छन् उनीहरु।

गाउँमा हुँदा पनि उनको परिवारको काम अहिले केही छैन। खाने र बस्नेमात्र हो। सिँचाइ र खेतीयोग्य जमिनको अभावमा खेती किसानी गर्न मन लागे पनि उनलाई त्यो अवसर छैन। चौँरीपालन नै हो मुख्य तर हिउँदमा गाउँमा बस्नै सकिँदैन। भोटे हिउँदभरि बेंसी झरेर व्यापारमा व्यस्त छन्। उनलाई साथ दिन्छन् उनकी श्रीमतीले। बर्खाका महिनामा त्यही हिउँदको कमाइले परिवार पाल्छन्। अहिले त्यसैका लागि उनीहरु बेंसीका गाउँ झरेका हुन्।

भोटेको हिउँदको व्यापार जिम्मु हो। हिमालपारीको जडीबुटी बोकेर उनको परिवार बागलुङ बजार झरेका छन्। प्लाष्टिकमा प्याकिङ गरिएको जिम्मु र खुला जिम्मु बोकेर भोटे दम्पती बजार डुलिरहेका छन्। त्यही जिम्मु उनीहरुको बाँच्ने आधार हो। पुस्तौँदेखि यसैगरी चल्दै आएको छ उनीहरुको जिवनी।

“हिउँदमा बेंसी झरेका बेला व्यापार नगरे बर्खामा छाक टर्दैन” कर्म भन्छन्, “पढ्ने उमेरकी सानी छोरी पोखराको एक विद्यालयमा होस्टल राखेर कान्छी छोरी बोकेर व्यापारमा हिँडेका छौँ।” भोटे परिवार मात्रै होइन चिसो छल्न उपल्लो मुस्ताङका अधिकांश सर्वसाधारण बेंसी झर्ने गरेका छन्।

वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेंसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको भोटेले बताए। यसरी व्यापारमा निस्किएका मुस्ताङीले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो, जिम्बु, सिद्रा, हिंङ, माला, शिलाजितलगायत सामग्रीको व्यापार गर्दै आएका छन्।

“हाम्रो रहर होइन, बाध्यता हो। घर छोडेर हिँडेका हुनेखानेलाई त समस्या छैन, तर हामीलाई दिनभर घुमेर व्यापार नभए, साँझ खान पाइँदैन”, भोटेले भने। चार महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले गत असोज अन्तिम हप्ताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेंसी झरेपछि गाउँ नै सुनसान बन्न थालेका छन्। मुस्ताङको लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुपलगायतका गाउँबाट सर्वसाधारण जाडो छल्न तल बेंसी झर्ने गरेको छैरो गाउँका भीम रसाइली बताउँछन्।

चिसो मौसममा उपल्लो मुस्ताङमा सञ्चालित मावि तथा प्राविले पोखराको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेर पठनपाठन सञ्चालन गर्ने गरेका छन्। घरमा पालेका बस्तुभाउ बूढाबूढीको जिम्मा लगाएर परिवारका अन्य सदस्य कात्तिक पहिलो हप्तादेखि घरबाट निस्किएका छन्। उनीहरु अहिले बागलुङ पर्वत, कास्कीका विभिन्न बस्तीमा व्यापार गर्दै डुलिरहेका छन्। अहिले उपल्लो मुस्ताङका अधिकांश नागरिक बेंसी झरेको जनाउँदै उक्त क्षेत्र सुनसान रहेको रसाइलीले जानकारी दिए।

यस मौसममा मुस्ताङीले घुम्ती व्यापारबाट कम्तीमा दुईदेखि पाँच लाखसम्म आम्दानी गरेर बर्खायामलाई पुग्नेगरी खाद्यान्न खरिद गरी लैजाने प्रचलन छ। यो मुस्ताङको उपल्लो क्षेत्रका बासिन्दाको पुरानै प्रचलन हो। पहिले सटही व्यापार गर्ने उनीहरु आजभोलि नगदमा कारोबार गर्छन्। – रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *