प्रेमीसँग बिहे गर्न आफ्नै मृत्युको नाटक, अर्कै युवतीको हत्या गरी लाशसँग आफ्नो सुसाइड नोट छोडिन्
काठमाडौं । दिल्लीसँगै रहेको नोएडाको बिसराखमा हत्याको एउटा अचम्मको घटना सार्वजनिक भएको छ । जहाँ एक युवतीले आफ्नो प्रेमीसँग मिलेर डरलाग्दो हत्याको षडयन्त्र रचेकी छिन् । घटना दादरीको बडपुरा गाउँसँग सम्बन्धित छ।
नोभेम्बर १२ मा, दादरी प्रहरीले २१ वर्षीया युवतीले आत्महत्या गरेको जानकारी पाएको थियो। युवतीको शवको अनुहार जलेको थियो । शव नजिकै एउटा सुसाइड नोट फेला परेको थियो, जसमा लेखिएको थियो कि मेरो अनुहार जल्यो, अब म यो अनुहार लिएर बाँच्न चाहन्न ।
मृतक भनिएकी तर जीवित रहेकी युवतीको नाम पायल रहेको बताइएको छ । युवतीको परिवारमा दुई दाजुभाइ छन् । बाबुआमा धेरै वर्ष अघि बितिसकेका छन् । युवतीका दाजुभाइले आफ्नी बहिनी सम्झेर दाहसंस्कार गरिसकेका छन् । तर यो शव पायलको होइन हेमलताको थियो ।
पायल चाहन्थिन् कि मानिसहरूले उसलाई मरेको ठानन्। हेमलताका दाजुले बहिनी हराएको भन्दै प्रहरीमा उजुरी दिएपछि यो घटना बाहिर आएको हो । प्रहरीले हेमलताको नम्बर ट्रेस गर्न थालेपछि आरोपी पायलका प्रेमी अजयको नम्बर फेला परेको थियो । अजयको नम्बर ट्रेस गर्दै पुलिस अजयसम्म पुग्यो। अजयलाई कडाइका साथ सोधपुछ गर्दा उनले सम्पूर्ण घटना बताए ।
पायलका हजुरबुवा ब्रह्म सिंहका अनुसार पायलले अजयसँग बिहे गर्न चाहेकी थिइन् । परिवारका सदस्यले यो विवाह हुन नदिने डर थियो । यही डरका कारण उनले यो सारा षडयन्त्र रचिन् ताकि मानिसहरूले उनलाई मरेको ठानुन् र उनी अजयसँग अन्यत्र कतै आरामसँग बस्न सकून्।
आरोपित पायलका हजुरबुवा ब्रह्म सिंहले पायलका दुई दाजुभाइ रहेको बताए । दाजुभाइमध्ये उनी जेठी हुन् । उनले बीएसम्म पढेकी छिन् । हजुरबुवा र उनका भाइहरू पायलको बिहेको तयारीमा थिए । विवाहका लागि गहनाको पनि तयारी भइरहेको थियो । दिल्ली र अन्य क्षेत्रहरूमा पायलका लागि केटाहरू पनि हेरिएका थिए।
अहिले फरेन्सिक टोलीले पायलको पूरै घरको खोजी गरेको छ । यहीँ घटना घटेको हो । यो पूरै घटनाबारे अहिलेसम्म प्रहरीको आधिकारिक धारणा बाहिर आएको छैन ।
अनुसन्धानका क्रममा प्रहरी पायलसम्म पुगेपछि सम्पूर्ण कुरा बाहिर आएको जानकारी प्राप्त भएको छ । हेमलताको हत्या गरेको आरोपमा प्रहरीले पायल र अजयसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान अझै जारी छ ।
Facebook Comment