पदाधिकारी बैठकमा छलफल नभएको विषय माओवादी प्रवक्ता महराले बोलेपछि…

शरद रिजाल
१९ मंसिर २०७९ ७:१५

काठमाडौं। नेकपा (माओवादी केन्द) को जारी पदाधिकारी बैठकमा शनिवार प्रवक्ता कृष्णबहादुर महराले सरकार गठनकालागि सबै विकल्प खुला राखिएको बताए।

उनको अभिब्यक्ति एमालेसँग समेत सत्ता सहकार्य गर्न सकिने अभिप्राय थियो। महराको अभिब्यक्तिले आइतबार राजनीतिमा नयाँ तरंग ल्याएको थियो। उक्त अभिब्यक्तिसँगै माओवादी प्रवक्ताको धारणालाई पार्टीको संस्थागत धारणा भन्दै अधिकांश सञ्चार माध्यममा चर्चाको विषय बन्यो।

एमालेसँग सत्ता सहकार्य गर्न सकिने उनको अभिब्यक्तिे कांग्रेस वृत्तमा तरंग आएको थियो। उक्त अभिब्यक्ति कै कारण माओवादीको विश्वसनीयतामाथि प्रश्न उठेको थियो। महराको अभिब्यक्तिले कांग्रेसका शेरबहादुर देउवा पक्षधर कतिपय नेताहरु सशंकित हुँदै प्रचण्ड भेट्न खुमलटार पुगेका थिए।

निर्वाचन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘प्रतिगमन विरुद्ध’ भन्दै संयुक्तरुपमा चुनावमा होमिएका गठबन्धनको एक घटक माओवादी पुनः एमालेसँग सहकार्य गर्न सकिने चर्चाले उसको राजनीतिक इमान्दारितामाथि प्रश्न उठेको थियो।

एउटाको मतले चुनाव जितेर अर्कैसँग सत्ता साझेदारी गर्नु राजनीतिक बेइमानी हुने बताइरहँदा महराले सोही आशय ब्यक्त गर्नुले गठबन्धनका अन्य घटक सशंकित बनेका थिए।

माओवादीले द्वैध चरित्र देखाएको भन्दै सर्वत्र आलोचनाको विषय बनेका बेला उनको अभिब्यक्ति सच्याउँदै गठबन्धनको विकल्प नभएको आइतबार बताएको छ। शनिवारको पदाधिकारी बैठकपछि प्रवक्ता महराको उक्त अभिब्यक्तिलाई महासचिव देव गुरुङले परिमार्जित गर्दै गठबन्धनले निरन्तरता पाउने बताएका हुन्।

आइतबारको पदाधिकारी बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले खण्डन गरेका हुन्। उनले आइतबार बेलुका भनेका थिए, ‘अहिले तत्काल गठबन्धन छाड्ने पक्षमा छैनौं। हिजो बाहिर जे आएपनि गठबन्धनलाई निरन्तरता दिएर जानुपर्छ गठबन्धनको विकल्पबारे अहिले केही छलफल भएको छैन।’

उनले अहिलेको गठबन्धनको विकल्प नखोजिएको बताए। अहिलेलाई यही गठबन्धनलाई निरन्तरता दिने पार्टीको संस्थागत धारणा भएको महासचिव गुरुङको भनाइ छ। उनले दुई दिनसम्म चलेको पदाधिकारी बैठकमा चुनावी समीक्षामा मात्र केन्द्रित भएको उनको भनाइ थियो।

शनिबाारदेखि जारी माओवादी पदाधिकारी बैठकमा छलफल नै नभएको विषयमा प्रवक्ता महराले अभिब्यक्ति दिएको एक पदाधिकारीले बताए। उनले जुन विषयमा अभिब्यक्ति नदिनु भनेर टिपोट गरिएको थियो सोही विपरित महरा बोलेको बताए।

तत्काल यो गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्नु राजनीतिक रुपमा उपयुक्त नहुने र जनताले त्यसलाई अस्वीकार गर्ने हुँदा तत्काल त्यसको कुनै संभावना नभएको ती पदाधिकारी बताउँछन्।

ती पदाधिकारीले भने, ‘उहाँले भनेको विषयमा कुनै छलफल नै भएको होइन। चुनावी समीक्षासँगै पार्टीले पराजय ब्यहार्नुका कारणबारे छलफल भएको थियो। उहाले बाहिर किन त्यसो भन्नुभयो।’

उनले अगाडि थपे, ‘निर्वाचनमा जानुपूर्वका प्रतिवद्धता अनुसार जनतालाई राजनीतिक स्थायीत्व र संविधानको रक्षा भन्दै ओलीको प्रतिगमन विरोधी मोर्चा बनाएर जाने अहिले निर्वाचनपछि फेरि सोही दलसँगै सहकार्य गर्ने विकल्प कुनै कोणबाट उपयुक्त हुदैन भन्नेमा सबै सचेत छौं। जुन विषय गर्नै हुन्न भन्ने थियो तर उहाले बाहिर सार्वजनिक रुपमा गठबन्धनको विकल्प खुला गरिएको भन्नु भयो यसले सबैलाई आश्चर्यचकित तुल्यायो। ’

दुई दिनसम्म चलेको माओवादी पदाधिकारी बैठकमा मुख्यतया चुनावी समीक्षामा मात्र केन्द्रित थियो गठबन्धनको विकल्पमा कुनै छलफल नै नभएको ती पदाधिकारीको दाबी छ। तर महराले किन गठबन्धनको विकल्प खुला गर्ने जानकारीले अचम्मित तुल्याएको उनले बताए।

माओवादीको शनिवारदेखि जारी पदाधिकारी बैठकमा चुनावी समीक्षमै केन्द्रित रहेर छलफल गरिएको अधिकांश पदाधिकारीले चुनाव गठबन्धन भन्दा पनि आफ्नै कारणले पराजय भएको धारणा ब्यक्त गरेको ती पदाधिकारी बताउँछन्।

ती पदाधिकारीले भने, ‘हामी हिजोको जस्तो भएनौं कहाँ कहा त्रुटी भयो गम्भीरताका साथ सच्याउँ। जनताले हिजोकै माओवादीको रुपमा देख्न चाहेका छन्। जनता र माओवादीकोबीच दूरी बढयो।’

माओवादीको आफ्नै कमीकमजोरी प्रधान रहेको र गठबन्धनको कतिपय असहयोग सहायक भएको ती पदाधिकारीले बताए। तर गठबन्धनको विकल्प खोज्ने विषयमा कुनै छलफल नभएको उनको प्रष्टोक्ति छ।

अर्का एक पदाधिकारीले जुन विषयमा अभिब्यक्ति नदिने भन्दै प्रवक्ता महराले टिपोट गरेर आएको तर बाहिर आएर सञ्चारकर्मीहरुसँग सोही विषय बोलेको बताए।

पार्टीको संस्थागत धारणा सार्वजनिक गर्ने प्रवक्ताको अभिब्यक्तिले माओवादीको आधिकारिक धारणाको रुपमा बाहिर तरंग ल्यायो। उनले प्राविधिक कमजोरी भएको बताउँदै ती पदाधिकारीले भने, ‘अहिले गठबन्धनलाई निरन्तरता दिनुपर्छ अन्य विकल्पमा जानुहुदैन भन्नुपर्नेमा महराजीले भुलबश विकल्प खुला भन्नुभयो आज महासचिवजीले त्यसलाई सच्याउनुभयो।’

आइतबारको पदाधिकारी बैठकमा महरा सहभागी थिएनन्। महरा बैठकमा नआएको ती पदाधिकारी बताउँछन्। ‘सायद महराजी बैठकमा सहभागी भएको भए यस विषयमा उहाँले कुन सन्दर्भमा भनिएको हो प्रष्ट पार्नुहुन्थ्यो होला’, ती पदाधिकारीले भने। तर महरा बैठकमा उपस्थित हुन सकेनन् अनुपस्थित हुनुको कारणबारे आफूलाई जानकारी नभएको ती पदाधिकारीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *