परिजिताको अमेरिकी भ्वाइसको फाइनलमा पुग्ने यात्रा रोकियो

डिसी नेपाल
२१ मंसिर २०७९ ८:१६

वासिंगटन डिसी । अमेरिकाको चर्चित रियालिटी शो द भ्वाइसको सेमिफाइनलबाट नेपाली मूलकी किशोरी परिजिता बास्तोला वाहिरिएकी छिन् । किशोर उमेरमै उनले अमेरिकाको अति उच्च प्रतिस्पर्धा हुने द भ्वाइसको सेमिफाइनलसम्मको यात्रा तय गरेकी थिइन् ।

नेपालको झापाबाट अमेरिका बसाइ सरेका उनका माता पिताकी उनी कान्छी छोरी हुन् । परिजिताले टप आठ प्रतियोगीहरुका बीचको प्रतिस्पर्धामा बटम फोरमा परेकी थिइन् । त्यसमा पर्ने ४ जनामध्येबाट एकजना छनौटमा पर्ने गर्छन् ।

जम्मा ५ मिनेटको समय दिएर पुन भोटिंग खुल्ला गरिन्छ । यसो गर्दा परिजिताले अरु तीनजनाभन्दा बढी मत प्राप्त गर्न सकिनन् । टप आठको प्रतिष्पर्धाका लागि डिसेम्बर ५ मा हलिउडमा भएको गायन प्रस्तुतिमा परिजिताले गाएको अनस्टवेवल बोलको गीतबाट प्रभावित भएर द भ्वाइसका जजहरुले स्ट्ण्डिङ ओवेसन पनि दिएका थिए ।

उनलाई जिताउन उनको अमेरिकास्थित गृह राज्य मेरिल्याण्डका स्थानीय व्यक्तिहरु, राजनीतिकर्मी तथा समाजसेवीहरुले अभियान नै चलाएका थिए । मेरिल्याण्डका गभर्नर ल्यारी होगनले समेत उनको प्रसंसा गर्दै जितको शुभकामना दिएका थिए ।

उनको विजयका लागि नेपाली मूलका व्यक्तित्वहरुको नेतृत्वमा भएका सबैजसो संघ संस्थाहरुले परिजिताई भोट गरौं भन्ने अभियान नै चलाएका थिए । सेमिफाइनलसम्म पुगे पनि परिजिताले अमेरिकामा नेपाली प्रतिभाको निकै राम्रो परिचय दिएकी छिन् ।

भ्वाइस जितेर हलिउडमा नेपालको नक्सा चिनाउने उनको अठोट तत्कालका लागि पूरा नभए पनि हरेक इपिसोडमा निकै शक्तिशाली प्रस्तुति दिएर उनले नेपाल र नेपालीको परिचय भने भरपुर दिएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *