कांग्रेसमा संसदीय दलको नेता : गगनले टक्कर देलान् सभापति देउवालाई ?

 गगनको अर्कै दाउ : सके दल नेता नभए महत्वपूर्ण मन्त्रालय

शरद रिजाल
२२ मंसिर २०७९ ७:१७

काठमाडौं। चुनाव अगावै आफूलाई भावी प्रधानमन्त्रीको दाबी गरेका कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेता बन्न उम्मेदवारी दिने बताइरहेका छन्।

पछिल्लो समय उनी आफ्नो पक्षमा लबिङ गर्दै हिँडिरहेका छन्। उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले साथ दिएका छन्।
यी दुबै थापालाई प्रधानमन्त्री बनाउने भगिरथ प्रयत्न गर्दैछन्।

निर्वाचित सांसदहरुको अंकगणित अनुसार गगन थापासँग कांग्रेसभित्र संसदीय दलको नेता बन्ने सामथ्र्य छैन। हालसम्म उनको पक्षमा देखिएका सांसदको संख्या अत्यन्त न्यून छ। जुन प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको तुलनामा धेरै कम रहेको देखिन्छ।

पार्टीको चौधौं महाधिवेशनमा फरक फरक समूहबाट महामन्त्री लडेका यी नेताद्वय पार्टीमा फरक गुटमै रहेका थिए। तर पछिल्लो समय महाधिवेशनमा प्रकाशमान सिंह पक्षबाट लडेका महामन्त्री शर्मा हाल भने संस्थापन देउवासँग निकट रहेको बताइन्छ। यद्यपि उनी अहिले थापालाई प्रधानमन्त्री बनाउन खुलेरै लागेका छन्।

महामन्त्री गगन भने शेखर कोइराला पक्षधर मानिन्छन्, जो महाधिवेशनमा देउवाविरुद्ध सभापतिमा उम्मेदवारी दिएका थिए। यी दुबै गगनलाई प्रधानमन्त्री बनाउने योजनामा हालसँगै रहेका छन्। उनीहरु गगनलाई पधानमन्त्री बनाउन एकै ठाउँमा उभिएका हुन्।

निर्वाचनमा सबै क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। समानुपातितर्फको भने निर्वाचन आयोगले सार्वजनिक गरिसेको छैन। कांग्रेसबाट प्रत्यक्ष निर्वाचित ५७ उम्मेदवारमध्ये अधिकांश अनुहार पार्टीमा संस्थापन पक्षनिकट मात्रै देखिँदा गगनको प्रधानमन्त्री बन्ने मोह सकसपूर्ण देखिएको छ।

उनले पार्टीमा आफ्नो बर्चस्व कायम गर्दै पुस्तान्तरणको मुद्दालाई बढावा दिने र भावी उत्तराधिकारीको रुपमा आफूलाई दर्शाउने ध्येयमात्र भएको समेत कांग्रेस निकट स्रोत बताउँछ।

यस्तो छ निर्वाचित सांसदहरुको समूहगत निकटता

नेपाली कांग्रेसमा मुख्यतया पाँच नेताको प्रधानमन्त्रीमा दाबी गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई लामो समयदेखि प्रधानमन्त्रीको दाबेदारको रुपमा प्रस्तुत गरिरहेका छन्।

उनको एकमात्र आकांक्षा प्रधानमन्त्री बन्ने देखिन्छ। केही दिन अगाडि डिसी नेपालसँगको कुराकानीमा समेत उनले एक पटक प्रधानमन्त्री बनेर देशमा सुशासन कायम गर्ने बताएका थिए।

यस्तै चौधौं महाधिवेशनमा सभापति देउवासँग पराजित शेखर कोइरालाले पनि प्रधानमन्त्रीको दाबी गर्दै सार्वजनिक अभिब्यक्ति, दिएका छन्। उनी मोरङ ६ बाट निर्वाचित भएका हुन्।

यस्तै काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रकाशमान सिंहले समेत आफूलाई प्रधानमन्त्रीको दाबी गरेका छन्। पूवी नवलपरासी बाट निर्वाचित शशांक कोइराला पनि आफूलाई प्रधानमन्त्री दाबी गरिरहेका छन्।

अर्का सहमहामन्त्री तथा बाँके क्षेत्र नं ३ बाट निर्वाचित किशोरसिंह राठौर पनि कांग्रेसभित्र प्रधानमन्त्रीको दाबी गर्नेहरुको सूचीमा थिए। तर, अहिले सिंह र राठौर दबैले देउवालाई नै सहयोग गर्ने गरी आन्तरिक सहमति गरेको बताइएको छ।

नेपाली कांग्रेसबाट निर्वाचित अधिकांश उम्मेदवार संस्थापन देउवा पक्षधर नै देखिएका छन्। उनीहरुको विगतको निकटता र समूहमा आवद्धताका आधारमा सोही समूहमा रहेको बताइएको हो। तथापि केहीमा अन्तिम समयमा बदलाव आउन सक्ने बताइन्छ भने कतिपय चौधौं महाधिवेशनमा देउवा इतर समूहबाट चुनाव लडेकासमेत देउवा टिममा आएका छन्।

कांग्रेसका अधिकांश निर्वाचित उम्मेदवार पछिल्ला दलको निर्वाचनमा समूह परिवर्तन गरेमा बाहेक हालसम्मको उनीहरुको निकटताको आधारमा कांग्रेस स्रोतले दिएको जानकारी अनुसार यहाँ उल्लेख गरिएको छ।

हालसम्म निर्वाचित सांसदहरुमध्ये शेरबहादुर देउवाको पक्षमा बहुमत सांसदहरु देखिएका छन्। तथापि समानुपातिकतर्फको मतपरिणामले समेत यो अंकगणितमा उल्लेख्य प्रभाव पार्ने देखिँदैन। किनभने उनीहरुले अधिकांश भागबण्डाको आधारमा सूची तय गरिएका छन् र सोही अनुरुप निर्वाचित भएर आउनेछन्।

देउवा पक्षमा प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, एनपी साउद, रमेश लेखक, बिरबहादुर बलायर, रमेश रिजाल, किशोरसिंह राठौर, विनोद चौधरी, पूर्णबहादुर तामाङ, खमबहादुर गर्बुजा, डिल्लीाराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, रामहरि खतिवडा, प्रदीप पौडेल, उदयशमशेर राणा, मोहनबहादुर बस्नेत, मोहन आचार्य, सीता गुरुङ, ऐनबहादुर शाही ठकुरी, अजयकुमार चौरसिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का देखिएका छन्।

यस्तै डा.शेखर कोइराला पक्षधर हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, रामनाथ अधिकारी, सञ्जयकुमार गौतम, चन्द्र भण्डारी, राजेन्द्र बजगाईं, राजेन्द्र केसी, डिगबहादुर लिम्बू, सुनीलकुमार शर्मा, राजु थापा, धनराज गुरुङ र बद्री पाण्डे देखिएका छन्।

वरिष्ठ नेता पौडेलसँग सुरेन्द्र आचार्य, तेजुलाल चौधरी, रामकृष्ण यादव, दिक्पाल शाही, देवप्रसाद तिमल्सिना र योगेश गौचन थकाली हुनेछन्। तेजुलाल चौधरी चौधौं महाधिवेशनमा डा शेखरको समूहबाट सहमहामन्त्रीको उम्मेदवार बनेका कारण पौडेलसँग वा डा. शेखर कोसँग हुन्छन् यकिन नभएको स्रोत बताउँछ।

महामन्त्री थापासँग आफूसहित विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, राजन केसी, सन्तोष चालिसे, दुर्लभ थापा रहेको बताइएको छ। यद्यपि दुर्लभ थापा गगनको पक्षमा आउने बताइए पनि उनी सभापति देउवा निकट हुन्।

सके संसदीय दलको नेता नसके मालदार मन्त्रालय हाँक्ने गगनको दाउ

कांग्रेसमा प्रधानमन्त्री बन्न अनिवार्यत संसदीय दलको नेतामा निर्वाचित हुनुपर्ने बिधानमा व्यवस्था छ। त्यसैले महामन्त्री थापा काठमाडौं ४ बाट निर्वाचित भए लगत्तै आफू अब संसदीय दलको नेता बन्ने तयारीमा लाग्ने अबको योजना रहेको बताएका थिए। उनको आशय संसदीय दलको नेता बन्न उद्धत रहेको देखिन्छ।

चौधौं महाधिवेशनमा शेखर कोइराला पक्षमा रहेर महामन्त्री जितेका थापा यसपटक आफ्नै समूहका नेतालाई समेत उछिनेर दल नेता बन्ने दाउमा छन्। यसले उनीसँग कोइराला असन्तुष्ट बनेको बताइन्छ।

थापाले आफूलाई संसदीय दलको नेतामा उम्मेदवार दिने बताइरहँदा उनकै नेता कोइरालाले समेत प्रधानमन्त्रीमा आकांक्षा ब्यक्त गरेका छन्। यसर्थ थापाले पार्टीभित्र आफ्नै शशक्त समूह नै बनाउने तयारी गरिरहेको समेत कतिपयले अथ्र्याउने गरेका छन्।

स्राेतका अनुसार पार्टीमा पुस्तान्तरणको मुद्दा उठाएर सभापति देउवालाई संसदीय दलमा चुनौती दिने तयारीमा रहेका थापा पराजित भएमा मन्त्री बन्नसमेत तयार भएका छन्।

तर पछिल्लो प्राप्त जानकारी अनुसार थापा संसदीय दलमा पराजित भए देउवासँग मालदार मन्त्रालय दाबी गर्ने तयारी रहेको बुझिएको छ। थापाले बालुवाटारमा केही समय अगाडि देउवासँगको भेटमा संसदीय दलको नेतामा पराजित भए महत्वपूर्ण मन्त्रालयको दाबी गरेको स्रोतले बताएको छ।

पार्टीको भावी नेतृत्वको रुपमा लिइने संसदीय दलका उम्मेदवार भएर समेत उनले महत्वपूर्ण मन्त्रालयको माग गर्नुले उनमा मन्त्री हुने लालसा ब्याप्त रहेको देखिन्छ।

प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले आफूलाई सघाउन र उम्मेदवारी नदिन थापालाई आग्रह गरेका थिए। तर, थापाले उम्मेदवारी दिने घोषणा गरिसकेकाले पछाडि फर्कन नमिल्ने बताउँदै पराजित भएमा सरकारमा रहेर सहयोग गर्न तयार रहेको भेटमा बताएको स्रोतले जनाएको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *