मुख्यमन्त्रीको कार्यालय सरेपछि देउखुरीमा बढ्यो चहलपहल

डिसी नेपाल
२२ मंसिर २०७९ २३:२७

भालुवाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय सरेपछि स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा चहलपहल बढ्न थालेको छ । स्थानीयहरू स्वतस्फुर्त आ–आफ्ना घर वरिपरि, बाटोघाटो सरसफाईमा सक्रिय भएर लागेको राप्ती गाउँपालिका–३ का वडा अध्यक्ष उमेशकुमार अधिकारीले बताए । “मुख्यमन्त्रीको कार्यालय नै मेरो वडामा रहने भएकाले यो वडालाई चिटिक्कै पार्ने काम भइरहेको छ”, अध्यक्ष अधिकारीले भने ।

“मुख्यमन्त्रीको कार्यालय सरेसँगै यहाँ सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिती देखिएको छ”, स्थानीय किशोर घर्तीले भने, “सवारी साधनको आवागमन बाक्लो भएको छ ।”

दुई वर्ष दुई महिनाअघि प्रदेशसभाले यस क्षेत्रलाई प्रदेशको राजधानी तोकेको थियो । यसअघि यहाँ ३० वर्षदेखि प्राविधिक शिक्षालय अध्यापन भइरहेकोमा हाल शिक्षालयलाई करिब १४ किलोमिटर दक्षिण राप्ती पारी गढवा गाउँपालिकामा स्थान्तरण गरिएको छ । साथै, शिक्षालय भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय व्यवस्थापनको काम भइरहेको प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारुले बताए । विद्यार्थीलाई कुनै समस्या नहुने गरी काम गरिरहेको उनको भनाइ छ ।

यहाँ साना र ठूला गरि २४ वटा भवन छन् । प्रदेशसभा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रदेशसभा भवनमा हाल रङ्गरोगनलगायतका काम भइरहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।

उनका अनुसार प्रदेशका सबै मन्त्रालयलाई पुग्ने गरी पूर्वाधारको व्यस्थापन भइरहेको छ । यसअघि दुई वटा मन्त्रालय पहिले नै स्थान्तरण भइसकेका थिए भने बाँकी मन्त्रालयको काम बुटवलबाटै भइरहेको थियो ।

गत सोमबार मध्यराति प्रदेश मुख्यमन्त्री र मुख्य सचिवको कार्यालय बुटवलबाट यहाँ सारिएको थियो । यही मङ्सिर ४ मा निर्वाचित भएका प्रदेशसभाका सांसदहरुको सपथ पनि यसै प्रदेशसभा भवनमै गराउने तयारी रहेको मुख्यमन्त्री कुलप्रसाद केसीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *