शाहरूख खानका छोरा आर्यनले विदेशी रक्सी बेच्ने
काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले अब विदेशी मदिरा बेच्ने भएका छन् । व्यापार जगतमा प्रवेश गर्दै उनले विश्वको सबैभन्दा ठूलो मदिरा कम्पनी एबी इनबेभको भारतीय इकाईसँग सम्झौता गरेका छन् । यो कम्पनीले कोरोना जस्ता बियर ब्रान्डको वितरण र मार्केटिङ गर्छ।
रिपोर्टका अनुसार २५ वर्षीय आर्यन खानले आफ्ना व्यापारिक साझेदारहरूसँग भारतमा प्रिमियम भोड्का ब्रान्ड लन्च गर्ने तयारी गरेका छन् । आर्यन खानले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा पनि यसको घोषणा गरेका छन् । उनले लन्च गरेको भोड्का ब्राण्डको नाम डियाभोल हो । जसलाई उनले आफ्ना पार्टनर बन्टी सिंह र लेटी ब्लागोएवासँग लन्च गर्नेछन्।
आर्यन खानले आफ्नो इन्स्टाग्राम अकाउन्टमा डीयाभोलको लोगोसहितको तस्बिर पनि सेयर गरेका छन् । उनले दुई तस्बिर पोष्ट गरेका छन्, जसमा एकमा उनी एक्लै र अर्कोमा आफ्ना साथीसँग देखिएका छन् । यी तस्विरहरूसँग क्याप्सन दिँदै उनले लेखे, ‘यसका लागि करिब पाँच वर्ष लाग्यो। डियाभोल अन्ततः यहाँ छ …।’ प्रयोगकर्ताहरूले उनको यो पोस्टमा लगातार टिप्पणी गरिरहेका छन्।
रिपोर्टका अनुसार आर्यन खान, बन्टी सिंह र लेटी ब्लागोएभाले मिलेर डियाभोल सुरु गर्न स्ल्याब भेन्चर्स नामको कम्पनी बनाएका छन् । जस अन्तर्गत यो भोड्का ब्राण्ड लन्च हुनेछ । यसले यसको वितरण र मार्केटिङका लागि एबी इनबेभको स्थानीय इकाईसँग साझेदारी गरेको छ।
यो अल्ट्रा प्रिमियम भोड्का ब्राण्ड डियाभोल आर्यन खान मार्फत लन्च गरेपछि व्यापार बढाउने योजना पनि रहेको छ, जसलाई एबी इनबेभले मात्रै बिक्री र वितरण गर्नेछ । यसपछि उनीहरूले ह्वीस्की र रम जस्ता ब्राउन स्पिरिट पनि लन्च गर्ने योजना बनाएका छन् ।
इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार यो साझेदारी अन्तर्गत धेरै उत्पादनहरू बजारमा लन्च हुनेछन्। यसमा आर्यन खानले सन् २०१८ मा जर्मनीमा आफ्ना व्यापारिक साझेदारहरूसँग भेट भएको भन्दै यसबारे चर्चा सुरु भएको बताइएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment