तीन गाउँका बासिन्दा स्वच्छ खानेपानीबाट वञ्चित

डिसी नेपाल
२७ मंसिर २०७९ २३:०१
28
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पूर्वी भेगमा रहेको तीन गाउँका बासिन्दा स्वच्छ खानेपानी पिउनबाट वञ्चित भएका छन् । खानेपानीको मुहान बाढीले बगाएपछि जुगल गाउँपालिकाको पाकुका करिब दुई सय र पाङार्पुका ३६ घरपरिवार स्वच्छ पानी पिउनबाट वञ्चित भएका हुन् ।

वैकल्पिक मुहान नहुँदा यहाँका करिब डेढ सय परिवार दूषित पानी पिउन बाध्य छन् । पानीको समस्या समाधान गर्न न स्थानीय तहले चासो देखाएको छ नत खानेपानी डिभिजन कार्यालयले नै । पानीको मुहान सफा गर्न र ट्याङ्की निर्माणमा कसैले पनि तदारुकता नदेखाउँदा पाकु र पाङार्पुवासी प्रदूषित पानी पिउन बाध्य भएका हुन् । वैकल्पिक मुहान नहुँदा खेतमा गाईवस्तु र रासायनिक मल मिसिएको पानी उपभोग गर्दै आइएको स्थानीय चन्द्रकुमारी सिलवालले बताइन् ।

यसैगरी इन्द्रावती गाउँपालिका–११ विषदेउटारका माझी बस्तीमा खानेपानीको धारा भए पनि पानी आउँदैन । धारामा पानी नआउँदा यहाँका ५६ परिवार खोलाको पानी बोकेर उपभोग गर्न बाध्य छन् ।

खानेपानीको भरपर्दो व्यवस्था नहुँदा धारा भए पनि पानीका लागि खोलामै झर्नुपर्ने बाध्यता रहेको स्थानीय शान्ति माझीले बताइन् । आफूहरुले खोलाको छेउमै जरुवा बनाएर पानीको गर्जो टार्दै आएको जानकारी दिँदै उनले घरको आँगनमै भएको खानेपानीको धारा हेर्नलाई मात्र भएको गुनासो गरिन् । गाउँपालिकाको करिब रु १० लाखको लागतमा निर्माण भएको धारामा आठ महिना बितिसक्दा पनि पानी नआएको सोही ठाउँ निवासी सरिता माझीले बताइन् ।

गाउँलेहरू पानीको दुःख भोगिरहन बाध्य हुनुपरेको अर्का स्थानीय रामजी माझीले बताउनुभयो । मुहान बनाउन र पानीको सहज आपूर्ति गर्न स्थानीय तहले चासो दिएको छैन । प्रदूषित पानी प्रयोग गर्दा विभिन्न सङ्क्रामक रोग लागेर उपचार गराउन ल्याउने गरेको चौतारा अस्पतालका चिकित्सक एलिजा हमालको भनाइ थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *