महिलाले पुरुषले लगाउने कपडा लगाउन नपाउने कानुन पारित !

डिसी नेपाल
२ पुष २०७९ १२:५७

काठमाडौं । मुस्लिम राष्ट्र मलेसियामा महिला विरोधी कानुन पारित भएपछि महिला अधिकारको विषयमा नयाँ बहस सुरु भएको छ । मलेसियाको तेरेङ्गगानु राज्यको विधानसभामा विवादास्पद कानुन पारित भएको छ । यो कानून अन्तर्गत पुरुषको लुगा लगाउने महिलालाई सजाय दिने भनिएको छ । यससँगै श्रीमान् बाहेक अन्य पुरुषबाट गर्भवती हुनुलाई अपराधको दायरामा ल्याइएको छ ।

यस महिनाको सुरुमा कानून पारित भएको थियो। यो विवादास्पद कानून पारित भएपछि मानवअधिकारकर्मीहरू आक्रोशित भएका छन् र उनीहरूले यसको विरोध गरिरहेका छन्। यी कानूनहरू उल्लङ्घन गरेमा ५ हजार रिङ्गिटसम्म जरिवाना, तीन वर्षको जेल, वा छ वटा कोर्रा वा तीनमध्ये दुईवटा सजाय हुनेछ।

अखिल महिला कार्य समाज सहित १४ अधिकारवादी समूहले यो नयाँ कानून अभिव्यक्ति स्वतन्त्रता र समानताको अधिकारको हनन भएको बताएका छन् । तेरेङ्गगानुमा बोक्सीविद्यालाई पनि प्रतिबन्ध लगाइएको छ। तेरेङ्गगानुमा इस्लामिक कट्टरवादलाई बढावा दिने मलेशियन इस्लामिक पार्टीको शासन छ।

रिपोर्टका अनुसार मलेसियाको धर्म विभागका अधिकारी सतीफुल बहारी ममतले नयाँ नियम मुस्लिमहरूको भलाइका लागि भएको बताएका छन्। प्रचलित कानुन पुरुषले महिलाले जस्तै बस्ने वा व्यवहार गर्नेमा मात्र सीमित भएकाले यस अन्तर्गत महिलाले पुरुषजस्तै बाँच्ने र व्यवहार गर्न नपाउने कानुन बनाएको उनले बताए ।

विगतमा यस्ता धेरै घटना नआएको हुनसक्ने तर अहिले टम्बोइज वा लेस्बियनको घटना तिव्र गतिमा बढिरहेको देखेकाले सरकारले नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । मलेसियाको तेरेङ्गानुको यो नयाँ कानून छिमेकी इन्डोनेसियाको कानुनको आधारमा तयार गरिएको छ जसमा पति बाहेक अन्य पुरुषसँग यौनसम्पर्क र गर्भपतनलाई अपराधको दायरामा राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *