बालबालिकामा आत्महत्या दर बिकराल बन्दै

डिसी नेपाल
२ पुष २०७९ १५:३५
16
Shares

सुर्खेत । कर्णाली प्रदेशमा आत्महत्या गर्ने बालबालिकाको ग्राम निरन्तर बढ्दो लयमा छ । तीन वर्षको तथ्यांकले यस प्रदेशमा बालबालिकाको आत्महत्या दर बिकराल रहेका देखिन्छ । कर्णाली प्रदेश प्रहरीका अनुसार यस अवधिका एक सय १९ जना बालबालिकाले आत्महत्या गरेका छन् । जम्मा एक हजार २६ जनाले आत्महत्या गरेकामा त्यसको ११ प्रतिशत बालबालिका रहेका छन् ।

आर्थिक वर्ष २०७\७७ मा ३५ जना, आर्थिक वर्ष ०७७\७८ मा ४१ र ०७८\७९ मा ३५ र चालू आर्थिक वर्ष २०७९\८० को हालसम्म आठ जना बालबालिकाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधवप्रसाद श्रेष्ठअनुसार बालबालिकामा अत्महत्या दर डरलाग्दो भएकाले यसको न्यूनिकरणका लागि सबै सचेत हुनुपर्ने छ । यसतर्फ अभिभावक र सरोकारवाला सचेत रहनु पर्नेमा जोड रहेको छ ।

बालबालिकामा आत्महत्या बढ्नुको कारण सामाजिक सञ्जाल, लागूऔषध दुव्र्यसनी , पारिवारिक कलह, कतिपय चाहेको कुरासमेत नपाउँदा आवेगमा आएर आत्महत्याको बाटो रोज्ने गरेको मनोविमर्शकर्ता बताउछन्। आवाज संस्थाका अनुसार बालबालिकामा उमेर बढ्दै जाँदा शारीरिकसँगै मानसिक रूपमा पनि सोच परिवर्तन हुँदै जान्छ। यसको सकारात्मक र नकारात्मक प्रभावले सही गलत छुट्टाउन नसक्दा र आफ्ना कुरा अरूसमक्ष राख्न नसक्दा आत्महत्या रोज्ने गरेको पाइएको छ ।

बालबालिकामा पारिवारिक अवस्थाले पनि असर गरेको , बालबालिकाले आफ्ना कुरा भन्न नपाउँदा, बुझ्ने र संरक्षण गर्ने अभिभावक नहुँदा आत्महत्याको बाटो रोज्ने गरेको पनि अर्को कारण रहेको छ । विद्यालयमा बालबालिकाका कुरा सुन्ने, समस्या पहिचान गरेर मनका कुरा राख्ने गोप्य र सुरक्षित वातावरण सिर्जना गर्नुपर्ने तर्फ पनि सचेत हुनुपर्ने भएको छ ।

आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी छ। बालकको तुलनामा पनि आत्महत्या गर्नेमा बालिकाको सङ्ख्या बढी छ । प्रहरीको तथ्यांक अनुसार तीन वर्षको अवधिमा ५१ जना बालकले आत्महत्या गर्दा ६८ जना बालिकाले आत्महत्या गरेका छन्। प्रत्येक वर्षको तथ्यांक हेर्ने हो भने आत्महत्या गर्ने बालकको भन्दा बालिकाको सङ्ख्या बढिरहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *