काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान

डिसी नेपाल
५ पुष २०७९ ८:२८
116
Shares

मध्यविन्दु। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन्। कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ।

व्यावसायिक काँक्रोखेती गरेका किसानको घरमा मेला जाँदाजाँदै काँक्रोखेती लगाउन सिकेकी ठिस्मा रानाले अहिले काँक्रोबाट मनग्य आम्दानी गरेकी छन्। रु १२ हजारको लगानीमा दुई वर्षअघि काँक्रोखेती सुरु गरेकी उनले पहिलो वर्ष खर्च कटाएर रु ६७ हजार आम्दानी गरेको बताइन्। “एक बाली धान लगाएर काँक्रो लगाउने गरेकामा अहिले तीन बालीसम्म काँक्रोमात्रै लगाउने गरेका छाैं”, किसान रानाले भनिन्।

रु सात हजारको लगानीमा अहिले उत्पादन सुरु भएको काँक्रोबाट रु ३३ हजार आम्दानी आइसकेको भन्दै उनले भनिन्, “आफैंले मेहेनत गरेर कमाउने भएपछि निकै खुसी मिल्ने रैछ, ऋण खोज्न परेको छैन, अहिले परिवार पाल्न आम्दानीको स्रोत नै यही भएको छ।”

कृषि पकेट क्षेत्रका रूपमा परिचित हुप्सेकोट गाउँपालिकाको वडा १ मा किसान काँक्रो नलगाउने कमै मात्र भेटिन्छन्। आम्दानीको स्रोत कृषि भए पनि व्यावसायिकरूपमा आम्दानी लिन नसकेका किसान अहिले काँक्रोखेतीमा आकर्षित हुँदै आएका छन्। वर्षमा तीन बालीसम्म यहाँका किसानले काँक्रोखेती लगाउँदै आएका छन्।

धान बालीमात्रै लगाउँदै आएकी दिलमाया परियारले काँक्रोबाट मनग्ने आम्दानी गर्न सकिने थाहा पाएपछि चार वर्षदेखि व्यावसायिकरूपमा काँक्रोखेती लगाउँदै आएकी छन्। “दुई कठ्ठामा लगाएको काँक्रोबाट खर्च कटाएर वर्षमा करिब रु दुई लाख आम्दानी हुने गरेको छ”, उनले भनिन्, “यसरी गाउँमै आम्दानी लिन सकिने सोचाइ पहिल्यै आएको भए श्रीमान्लाई विदेश पठाउनुपर्ने थिएन, मेहेनत गर्ने हो भने विदेशमा भन्दा स्वदेशमा राम्रो आम्दानी गर्न सकिने रहेछ।”

यस क्षेत्रमा १५ कठ्ठामा काँक्रो लगाएका किसानले खर्च कटाएर वर्षमा रु छ लाखसम्म आम्दानी गर्दै आएका छन्। यहाँ उत्पादित काँक्रो व्यपारीले खरिद गरी काठामाडाैं पठाउने गर्दछन्। किसान र व्यापारीबीच बिचौलिया नभए अझै राम्रो आम्दानी गर्न सकिने किसान बताउँछन्।

हुप्सेकोट गाउँपालिकाको वडा नं १, ३ र ४ वडामा काँक्रोखेती हुँदै आएको छ। यहाँको करिब दुई सय बिघा क्षेत्रफलमा समूह र व्यक्तिगत गरी किसानले काँक्रोखेती लगाउँदै आएका छन् ।

समूह र व्यवसाय दर्ता गरी काँक्रोखेती लगाएका किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, प्लास्टिक मल्चिङ्क, प्याकेजिक प्लास्टिक, तौल काटा, डोरीलगायतका सामग्री गाउँपालिकाले सहयोग गर्दै आएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्। गाउँपालिका क्षेत्रबाट उत्पादन हुने तरकारीजन्य वस्तुको बजारीकरणमा गाउँपालिकाले सहयोग गर्दै आएको अध्यक्ष पाण्डेको भनाइ छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *