हिमाली भेगमा खटिने सशस्त्र प्रहरीलाई डाउन ज्याकेट उपलब्ध गराइने

डिसी नेपाल
१४ पुष २०७९ २१:५५
976
Shares

काठमाडौँ । सशस्त्र प्रहरीले हिमाली भेगमा खटिने आफ्ना कर्मचारीलाई मौसम अनुकुलको कपडा उपलब्ध गराउने भएको छ । जाडोयममा चिसोबाट बच्न मौसम अनुकूल हुने गरी हिमाली चुस्ता र डाउन ज्याकेट उपलब्ध गराउने भएको हो ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम १६७ ले दिएको अधिकार प्रयोग गर्दै सशस्त्र प्रहरीले हिमाली भेगमा खटिने सबै सशस्त्रका सबै सुरक्षाकर्मीलाई मौसमअनुकूल पोसाक दिने निर्णय भएको हो ।

अहिले हिमाली भेगमा खटिने सुरक्षाकर्मी सरुवा भएर अन्यत्र जाँदा आफूले लगाएका डाउन ज्याकेट र हिमाली चुस्ता कार्यालयमा छोड्नु पर्ने बाध्यता भएपनि अबदेखि त्यसको अन्त्य भएको छ ।

यसअघि प्रत्येक तीन/तीन वर्षमा कटन प्याडेट युनिफर्म सुट र ५ वर्षको अन्तरालमा स्नोपार्क ज्याकेटमात्र पाउँदै आएका थिए । यो व्यवस्थासँगै हिमाली क्षेत्रमा कार्यरत कर्मचारी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

नियमावलीमा सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानहरुले पाउँदै आएको पोशाक तथा अन्य सामानहरुको सम्बन्धमा समेत संशोधन गरिएको छ ।

डिएसपी थापाका अनुसार संशोधित नियमावलीमा सशस्त्र प्रहरी कर्मचारीहरुले १ वर्ष अवधिमा पाउने पिटी गन्जी, पिटी कट्टु र पिटी जुत्तामा ट्रयाक्सुट र स्पोर्ट्स जुत्ता थप गरिएको छ ।

वरिष्ठ अधिकृतहरुले पाउँदै आएको टपबुट जुनियर अधिकृतहरुलाई समेत उपलब्ध गराउने गरी नियमावली संशोधन गरिएको भन्दै डीएसपी थापाले राजपत्राङ्कित अधिकृतहरुका लागि मात्र गरम र जाडो मौसममा उपलब्ध गराइएको सेरिमोनियल ड्रेस अब उप्रान्त सेरिमोनियल कार्यक्रमहरुमा भाग लिने अन्य सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत उपलब्ध गराइएको जानकारी गराए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *