आज तमु गुरुङ समुदायले ‘तमु ल्होसार’ मनाउँदै, देशभर सार्वजनिक विदा
काठमाडौं। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते अर्थात आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन्।
विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा यसपटक बिरालो बर्ग रहनेछ। हरेक वर्षझैं यस वर्ष पनि ’हि ल्हो’ (बिरालो वर्ग) वर्षलाई सबैको शुभ होस् भनी तमु गुरुङ परम्पराअनुसार ग्रह–दशा शान्ति पूजा गरी आज नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी ल्होसार मनाउने गरिन्छ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले आजका दिन यो पर्व मनाउने गरिएको हो।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment