बाग्मती सभ्यता संरक्षणका अभियन्ता स्व वैद्यको स्मृतिमा फाउन्डेसन स्थापना

डिसी नेपाल
१५ पुष २०७९ १६:१२
20
Shares

काठमाडौं ।बाग्मती नदी सभ्यता संरक्षणका अभियन्ता स्व हुतराम वैद्यका नाउँमा हालै काठमाडौँमा एक फाउन्डेसन स्थापना गरिएको छ ।

चौरानब्बे वर्षको उमेरमा नौ वर्षअघि स्वर्गारोहण हुनुभएका चर्चित महाअभियन्ता वैद्यको स्मृतिमा उहाँकी स्व धर्मपत्नीसमेतको नाउँ जोडेर वैद्य दम्पतीकी छोरी श्रीमती मीना वैद्य पाण्डेको विशेष पहलमा गरी आमाबुबाको सम्झना तथा सम्मानस्वरूप ‘शारदा–हुतराम वैद्य फाउन्डेसन’ स्थापना गरेका हुन् ।

स्व हुतराम वैद्य नेपालको पहिलो कृषि इञ्जिनीयर पनि हुन् । दिगो कृषि विकास, कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्नेमा कुरामा स्व वैद्यले धेरै काम गरेका थिए । साथै वाग्मती नदी र काठमाडौँको सभ्यता संरक्षण हुनुपर्ने कुरामा रातदिन लागिपर्ने महाअभियन्ताका रूपमा पनि उनी चिनिन्छन् ।

नेपालमा ज्येष्ठ नागरिक अधिकार प्राप्तिका लागि पनि थुप्रै वर्ष अग्रणी वकालती भूमिका निभाउनुभएका उनले नेपालमा अलग्गै ‘ज्येष्ठ नागरिक मन्त्रालय’ तथा ‘ज्येष्ठ नागरिक आयोग’ चाहिने कुरामा जीवनपर्यन्त वकालत गरेका थिए । स्व वैद्यले नेपालको कृषि, जलसभ्यता तथा ज्येष्ठ नागरिक अधिकारका लागि पु¥याएको बहुआयामिक योगदानका विविध पक्ष थप उजागर गर्ने, उहाँका सुकीर्ति र अभियानलाई निरन्तरता दिने र उहाँका अनुकरणीय कार्यको थप प्रचारप्रसार तथा प्रकाशन गरी नयाँ पुस्तामाझ पु¥याउनेजस्ता महत्वपूर्ण उद्देश्य बोकेर फाउन्डेसन स्थापना गरिएको कुरा संस्थापिका मीना वैद्य पाण्डेले बताइन् ।

फाउण्डेसन स्थापनाका अवसरमा आयोजित कार्यक्रममा स्व वैद्यले करिब दुई दशकअघि लेख्नुभएको अनुसन्धानमा आधारित चर्चित पुस्तिका ‘वाग्मती बाँचिरहोस्’ को दोस्रो संस्करणको पनि लोकार्पण गरिएको थियो । स्व वैद्यका वाग्मती सभ्यता, ज्येष्ठ नागरिक सवाल तथा दिगो कृषि र विकासका मुद्दामा आधारित विविध विषयका करिब एक दर्जन पुस्तक प्रकाशित छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *