निर्मला पन्त हत्या प्रकरणः पुराना फाइल पल्टाउँदै प्रहरी

डिसी नेपाल
१६ पुष २०७९ ११:३९

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको साढे चार बर्षपछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । गृहमन्त्री रवि लामिछानेले निर्मला हत्या प्रकरणलाई छिट्टै टुंगोमा पुर्‍याउने बताउँदै आइरहेका बेला प्रहरीले सो घटनाका पुराना अनुसन्धान फाइल तथा मिसिल फेरि पल्टाउन थालेको हो ।

यसैगरी, पुराना फाइलको अध्ययनसँगै प्रहरीले पहिले अनुसन्धानमा तानिएर छुटेका र नयाँ सम्भावित अनुहारलाई समेत उच्च निगरानी गरिरहेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घाटनाको अनुसन्धानका लागि डिआइजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए । डिआइजी सिंह हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा कार्यरत छन् । यसअघि उनी प्रहरी उपरीक्षक हुँदा उक्त घटनाको अनुसन्धानमा खटिएकी थिइन् ।

गृहमन्त्री लामिछानेको निर्देशनबमोजिम गठित समितिमा सिआइबीकै प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायासहित चिकित्सक सहभागी छन् । उनीहरूलाई उक्त घटनाको अनुसन्धानका लागि नयाँ प्रक्रियाबाट काम गर्न कार्यादेश दिइएको छ । यसअघि पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा सिआइबी नै खटिएकाले पनि सिआइबीमै कार्यरत सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता राईले जानकारी दिए ।

गृहमन्त्री लामिछानेले मन्त्रीको पदभार ग्रहण गरेकै दिन पनि निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहलाई घटनाको विषयमा अपडेट गराउन निर्देशन दिएका थिए ।

सोही आधारमा आज प्रहरी प्रधान कार्यालयमा भएको निरीक्षण भ्रमणका क्रममा प्रहरीले गृहमन्त्री लामिछाने समक्ष घटनामा हालसम्म प्रहरीले गरेको अनुसन्धान कार्यबारे ब्रिफिङ गरेको थियो । हालसम्म प्रहरीले गरेका प्रयासबारेमा गृहमन्त्रीलाई अपडेट गराइएको प्रवक्ता राईले जानकारी दिए ।

सो क्रममा गृहमन्त्री लामिछानेले तथ्यका आधारमा अनुसन्धान अघि बढाई निष्कर्षमा पुर्‍याउन प्रहरीलाई निर्देशन दिएका छन् । विसं २०७५ साउनमा पन्तको बलात्कारपछि हत्या गरिएको थियो । अहिलेसम्म उक्त घटनाका दोषी पत्ता लाग्न सकेको छैन । घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक सयभन्दा बढीको डिएनए परीक्षणसमेत गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *