छाडा कुकुर घटाउन स्थायी बन्ध्याकरण अभियान

डिसी नेपाल
१९ पुष २०७९ १४:५२

बुटवल। तिलोत्तमा नगरपालिकाभित्र रहेका सामुदायिक छाडा कुकुरको स्थायी बन्ध्याकरण अभियान सम्पन्न गरिएको छ।

नगरपालिकाको आर्थिक सहयोगमा पक्लिहवा कृषि तथा पशु अध्ययन क्याम्पसका र युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रीकल्चरको प्राविधिक सहयोगमा तीन दिनमा ८० वटा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको हो।

नगरपालिका कार्यालय परिसरमा मंगलबार औपचारिक कार्यक्रम गरी कुकुरको स्थायी बन्ध्याकरण शल्यक्रियामा प्राविधिक सहयोग गर्ने चिकित्सकहरू डा. केशव लम्साल, डा. विरेन्द्र श्रेष्ठ, डा. गंगाप्रसाद यादवसहित सहयोगी संस्थाहरूलाई सम्मान गरिएको छ।

कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाणले समुदायमा संचालन गरिने विकास निर्माणको कार्यहरूलाई एकीकृत योजना बनाई अघि बढाउनुपर्ने बताए। सामुदायिक छाडा कुकुरको नियन्त्रणको अभियान थालनी गरेको भन्दै यसमा छिमेकी पालिकाहरुको सहकार्य जारी रहने उनले बताए। ‘स्थानीय तहहरू मिलेर साझा मुद्दामा एकताबद्ध भई काम गर्नुपर्छ,’ उनले भने।

छाडा चौपाया, सामुदायिक कुकुर, फोहोर व्यवस्थापन, वातावरण संरक्षण जस्ता विषयमा एकीकृत योजना बनाएर अघि बढ्न जरुरी रहेको उनले बताए। बजार क्षेत्रमा कुकुरको संख्या बढ्दा नगर अब्यवस्थित हुनुको साथै विभिन्न रोग लाग्ने जाेखिम बढेपछि अभियान चलाएको खाणको भनाइ छ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सिमित बजेटमा नमूना काम भएको बताए। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरमा धेरै छाडा पशुको समस्या रहेको बताइन्।

समुदायबाट कुकुरको व्यवस्थापनको दबाब आइरहेको बेला बन्ध्याकरण राम्रो विकल्प भएको उनले दाबी गरिन्। नगरपालिकाका सबै वडा कार्यालयहरूको समन्वयमा बन्ध्याकरण कार्यलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *