शालिनदीमा माघ स्नानसहित माधवनारायणको मेला (तस्बिरहरु)

डिसी नेपाल
२२ पुष २०७९ १२:२८

काठमाडौं। काठमाडौंको साँखुस्थित शालिनदी क्षेत्रमा लाग्ने माधवनारायण तथा स्वस्थानी व्रत मेला शुक्रबारदेखि सुरु भएको छ। व्रतको अघिल्लो दिन बिहीबार चिभ्वय नयगु (नुन भोज खाने) कार्यक्रम भएको थियो।

प्रत्येक वर्षजसो व्रत सुरु हुनु अघिल्लो दिन यसरी नै चिभ्वय नेयगु कार्यक्रम हुन्छ। व्रस्त वस्ने महिलाहरुले एक महिनासम्म नुन खान नहुने भएकाले व्रत सुरु हुनु अघिल्लो दिन यसरी नुन भोज खाने परम्परा छ।

यसअघि मेलाको एक हप्तादेखि नै ब्रतालुले पूजा पाठ सुरु गरेका थिए। यो व्रतलाई कठिन व्रत मानिन्छ। व्रतालुले एक छाकमात्र खान्छन्। जुत्ता चप्पल नलगाई पैदल हिँड्नुपर्ने व्रतविधि छ। यो बेला व्रतालुले सात्विक भोजन गर्छन्।

व्रतको बीचमा गर्नुपर्ने परदेश यात्रामा पनि जुत्ता चप्पल नलगाई खाली गोडा पैदल यात्रा गर्नुपर्छ । यो यात्रा साँखु शालिनदी क्षेत्रबाट बज्रयोगिनी, पशुपति, फर्पिङ, पनौती, चाँगुनारायणलगायत स्थानमा गरिन्छ। नुन खान नहुने, हिडडुल गर्दा जुता नलगाई खाली खुटा हिडनुपर्नेलगायत कारण यो ब्रतलाई कठिन अनि कठोर व्रत मानिन्छ।

श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले व्रतको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाए। व्रतस्थललाई थप व्यवस्थित पार्न शालिनदी मन्दिर परिसरमा सरसफाईसमेत गरेको उनले जानकारी गराए।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एकमहिना लाग्ने मेला यो वर्ष पुस २२ देखि माघ २२ गतेसम्म सञ्चालन हुनेछ। यो वर्ष तीसदेखि ३५ लाखले मेला अवलोकन गर्ने अपेक्षा राखिएको छ।

यति संख्यामा शङ्खरापुर नगरपालिकास्थित शालिनदीमा बाह्य तथा आन्तरिक हिन्दुधर्मावलम्वीले दर्शन गर्न सक्ने गरी व्यवस्था गरिएको जनाइएको छ। अहिले यो ब्रत पौराणिक मान्यतामा आधारित यो व्रत एवं मेला राष्ट्रिय महत्व र गौरवको विषय बनेको छ।

मेलामा आउने भक्तजनका लागि सहज रुपमा सार्वजनिक यातायातको व्यवस्था गरिएको छ । यसका लागि शालिनदी यातायात प्रालि, बाबा गोकर्णेश्वर यातायात प्रालिबाट सबै बस सञ्चालन गरी अपुग भएमा अन्य यातायातका साधन पनि सञ्चालनमा ल्याइने भएको जनाएको छ।

मेलामा शान्तिसुरक्षा, स्वास्थ्य सेवा, निःशुल्क खानेपानी सेवा, कोरोनाको नयाँ भेरियन्ट बढ्न सक्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउन चेतनामूलक अभियान सञ्चालन गरिनुका साथै स्यानिटाइजर मास्क निःशुल्क वितरण गरिनेछ।

मेला सञ्चालनका लागि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक र पौराणिक महत्वको सहर साँखुका आठवटै टोलबाट पालैपालो अध्यक्ष छान्ने व्यवस्था छ। यस पटकदेखि दुई वर्षका लागि साल्खा टोलका बालकृष्ण श्रेष्ठ अध्यक्ष बनेको कार्यक्रममा संयोजक लक्ष्मीप्रसाद श्रेष्ठले जानकारी दिए।

साँखुलाई तीन हजार तीन सय वर्ष पुरानो सहरका रुपमा मानिँदै आएको छ । त्यसैबेलादेखि माधवनारायण स्वस्थानी व्रत नियमित रुपमा सञ्चालन हुँदै आएको विश्वास छ।

मेला क्षेत्रमा प्लाष्टिक निषेधित गरिएको छ। मेलाका लागि नगरपालिकाले बजार अनुगमनको जिम्मेवारी लिएको समितिका पूर्वअध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए। मेलाका लागि आवश्यक अन्य सहयोग पनि नगरपालिकाले गर्ने वचन दिएको उनको भनाइ छ।

मेला सञ्चालनमा आउने पसलमा समितिले तोकेको मूल्यसूची राखिने जानकारी पनि दिइएको छ। मेलाका बेला बढी भाडा लिने सार्वजनिक यातायात र तोकिएभन्दा बढी मूल्यसूची लिने पसललाई इलाका प्रशासन कार्यालय, नगरपालिका, समितिलगायतको समन्वयमा बन्ने संयन्त्रले कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ।

स्वस्थानी कथाबारे गरिएका अनुसन्धानहरूले यसलाई स्कन्दपुराणको केदारखण्ड, माघ माहात्म्यबाट उद्धृत गरिएका हुन भन्ने मान्यता छ। साथै यो पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउँं भनी ब्रत बसेको भन्ने आधार पनि चर्चित छ।

तस्बिरःरोशन सापकोटा\रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *