४० ओभरको खेलमा ५०८ रन बनाएर किर्तिमान, १७८ बलमा ८१ चौका १८ छक्का हाने

डिसी नेपाल
३० पुष २०७९ १५:४१

काठमाडौं । महाराष्ट्रका १३ वर्षीय ब्याट्सम्यान यश चावडेले इतिहास रचेका छन् । यशले मुम्बई इन्डियन्स जुनियर स्कूल प्रतियोगितामा ५०८ रनको अपराजित इनिङ खेलेका छन् । शुक्रबार नागपुरमा भएको ४०–४० ओभरको खेलमा यशको टिम सरस्वती विद्यालयले कुनै विकेट नगुमाइ ७१४ रन बनाएको थियो ।

जवाफमा प्रतिद्वन्द्वी सिद्धेश्वर विद्यालयको टोली ५ ओभरमा ९ रनमा अलआउट भयो । यसरी सरस्वती विद्यालयले खेल ७०५ रनले जित्यो । यशले आफ्नो पारीमा १७८ बलको सामना गर्दै ८१ चौका र १८ छक्का प्रहार गरे । यश कुनै पनि अन्तर विद्यालय सीमित ओभरको क्रिकेट खेलमा ५०० वा सोभन्दा बढी रन बनाउने पहिलो भारतीय ब्याट्सम्यान बनेका छन्।

यस विधामा सबैभन्दा ठूलो इनिङ खेल्ने विश्व कीर्तिमान श्रीलंकाका चिरथ सेलेपेरुमाको नाममा छ । चिरथले सन् २०२२ मा श्रीलंकामा भएको अन्डर-१५ खेलमा ५५३ रनको इनिङ्स बनाएका थिए।

क्रिकेट तथ्याङ्कविद् मोहनदास मेननका अनुसार यशको इनिङ्स कुनै पनि ढाँचा र जुनसुकै उमेर समूहमा ५०० रनभन्दा माथिको १० औं इनिङ्स मात्र हो। जसमध्ये ५ पटक भारतीय ब्याट्सम्यानले यस्तो उपलब्धि हासिल गरेका छन् । यशअघि प्रणव धनवडे (नटआउट १००९), प्रियांशु मोलिया (५५६ रन), पृथ्वी शा (५४६ रन) र दादी हावेवाला (५१५) जस्ता ठूला पारी खेल्ने भारतीय ब्याट्सम्यान थिए।

यी चार ब्याट्सम्यानले एक दिनभन्दा बढी खेलमा यति धेरै रन बनाएका थिए । यश सीमित ओभरको क्रिकेटमा ५००+ रन बनाउने पहिलो भारतीय बने।

यश सुरुमा स्केटिङमा करियर बनाउन खोज्दै थिए । १० वर्षको उमेरमा, उनले यो खेल प्रयास गरे। प्रदेश र राष्ट्रिय स्तरमा पनि राम्रो नतिजा आएको छ । यद्यपि, उनका बुबाले भारतमा खेलको राम्रो भविष्य नभएको महसुस गरे। त्यसपछि उनले यशलाई क्रिकेट खेल्न प्रोत्साहित गरे।

सरस्वती विद्यालयबाट यसभन्दा पहिले पनि चर्चित क्रिकेटरहरु अगाडि आएका छन् । विदर्भ रणजी टोलीका वर्तमान कप्तान फैज फजल पनि यही विद्यालयका विद्यार्थी हुन् । फैजले यसअघि अण्डर १४ क्रिकेटमा स्कुल टिमबाट खेल्दै २८० रनको इनिङ खेलेका थिए । विदर्भका सबैभन्दा सफल विकेटकिपर ब्याट्सम्यान अक्षय वाडकर पनि त्यही विद्यालयको टोलीमा खेलेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *