‘प्रसाद २’ को प्रदर्शन मिति तय
काठमाडौँ। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ। एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकाएपछि युनिट काठमाडौँ फर्किँदै छ। कलाकार परिवर्तनसँगै विविध कारणले रोकिएको फिल्मले छायाङ्कन सम्पन्न गरेसँगै आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गतेलाई प्रदर्शनसमेत तय गरेको छ।
फिल्म छिट्टै तयार हुने भएकाले प्रदर्शन मिति घोषणा गरिएको निर्माता सुभास थापाले जानकारी दिए। “प्रारम्भिक सम्पादन र ध्वनिको काम छायाङ्कनमै भएको छ। हाम्रो फिल्म पूर्णरूपमा तयार हुने भएकाले प्रदर्शन घोषणा गरेका हौँ”, निर्माता थापाले भने। एसजी फिल्मस् र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सुदर्शन बस्नेतसमेत निर्माता हुन्।
सुदर्शन थापाको निर्देशन रहेको फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतको अभिनय रहेको छ। “मेरो लागि यो फरक किसिमको फिल्म रह्यो। मैले कथालाई न्याय गरेको छु”, निर्देशक थापाले भने। यो फिल्म ‘प्रसाद’ को दोस्रो भाग हो।
यसमा राजेश श्रेष्ठको छायाङ्कन, राजनराज सिवाकोटीको सङ्गीत, उत्तम न्यौपानेको ध्वनि मुद्रण, पत्रकार सुशील पौडेलको लेखन रहेको छ। फिल्मको प्रोडक्सन कोर्डिनेटरको काम मनोज केसीले गरेका हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment