‘मेरो बिरामी तपाईंले हेरिदिनु भनेर चुनावी प्रचारमा हिँडेको थिएँ’

डिसी नेपाल
२ माघ २०७९ ६:११
484
Shares

काठमाडौं। पोखरामा भएको हवाई दुर्घटनामा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक पनि रहेको पुष्टि भएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक डा सुशील श्रेष्ठ र उहाँकी श्रीमती डा सोना दिवाकरको आज हवाई दुर्घटनामा निधन भएको हो।

सेन्टरका पूर्वनिर्देशक डा सन्तोष पौडेलले डा श्रेष्ठ दम्पतीको पोखरा घर जाने क्रममा हवाई दुर्घटनामा निधन भएको बताए। उनले आफू चिकित्सक सङ्घको निर्वाचनमा खट्नुपर्ने भएकाले आफ्ना बिरामीसमेत डा श्रेष्ठलाई हेर्न भनेका थिए।

“दुई हप्ताअघि म चुनावमा निस्के मेरो बिरामी तपाईले हेरिदिनुहोला भनेको थिए”, डा पौडेलले भने, “उहाँले मेरा बिरामी हेर्दै आइरहनुभएको थियो । तर घर जाने क्रममा सोच्दै नसोचेको दुःखद् घटना भयो।”

डा पौडेल नेपाल चिकित्सक सङ्घको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार भएकोले चुनावी प्रचारका क्रममा देश दौडाहामा हुने भएपछि सेन्टरमा दुई हप्तादेखि बिरामी हेर्न छाडेका थिए।

तीन वर्षअघि मात्र सेन्टरमा अर्थोपेडिक चिकित्सकको रुपमा डा श्रेष्ठले काम सुरु गरेका थिए। पोखरा महानगर गणेशटोलका ३३ वर्षीय श्रेष्ठ आज श्रीमती र सानो १० महिने बच्चासहित बिदामा घर गएका थिए।

हवाई दुर्घटनामा अर्का चिकित्सक डा गणेश थापा पनि परेका छन्। नेपाल चिकित्सक सङ्घका महासचिव डा बद्री रिजालले सङ्घका आजीवन सदस्य तीनै जनाको निधनले नेपालको चिकित्सा क्षेत्रका उज्जवल नक्षत्र गुमाएको बताए।

काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान आइतबार बिहान १०.५१ मा पोखरा सेती खोचमा दुर्घटनामा हुँदा ६८ जनाको निधन भएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *