उपसभामुख निर्वाचनसम्बन्धी प्रस्तावमाथि छलफल
काठमाडौं। प्रतिनिधिसभाको उपभामुख चयनको प्रक्रिया सुरु भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले सांसद इन्दिरा रानामगरलाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वार्चित गरियोस् भनी प्रस्ताव पेस गरिन्।
उक्त प्रस्तावलाई नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले समर्थन गरेका थिए। उक्त प्रस्ताव पेस गर्दै सांसद गौतमले उम्मेदवार रानामगर राजनीतिमा नयाँ भए पनि सामाजिक क्षेत्रमा आम नेपालीबीच परिचित अनुहार भएको बताइन्।
कारागारमा रहेका अभिभावकका बालबालिकाको अभिभावकत्व लिएर समाजमा उदाहरणीय कार्य गरेको उल्लेख गर्दै उनले रानामगरलाई उपसभामुखमा निर्वाचित गराएर गौरव गर्नुपर्ने धारणा राखिन्।
“अन्धकारमा जीवन बिताइरहेका कैयौँ नेपाली बालबालिकालाई नयाँ जीवन र नयाँ भविष्य दिएर नेपालको भविष्य नै उज्जवल बनाउनुहुने माननीय इन्दिरा रानामगर यस गरिमामय सदनको उपसभामुखको कुर्सीमा बस्नु भनेको, उहाँको योग्यताको कदर मात्र होइन । बरु उपसभामुखको कुर्सी नै सम्मानित हुनु हो”, उनले भनिन्।
उक्त प्रस्तावका समर्थक श्रेष्ठले समाजमा दिएको योगदानको प्रतिफलका आधारमा नै रानामगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाएको बताए। उनको पृष्ठभूमि, वर्तमान अवस्था र भविष्यमा खेल्नसक्ने भूमिकालाई मध्यजनर गर्दै उपसभामुखमा सान्दार मतबाट निर्वाचित गराउन श्रेष्ठले आग्रह गरे।
अर्का समर्थक शर्माले सामाजिक क्षेत्रमा अब्बल व्यक्तिका रुपमा सांसद रानामगर रहेको उल्लेख गर्दै सिङ्गो संसद्लाई उनले नेतृत्व गर्न सक्ने बताइन्। उनले महिला, जनजाति, पछाडि परिएका व्यक्तिलाई अगाडि ल्याउन पनि रानामगरलाई उपभामुखमा विजयी गराउनुपर्ने बताइन्।
अर्का समर्थक लिङ्देनले रानामगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतलेसमेत नजिकबाट चिनेको उल्लेख गर्दै उनले भूइँ मान्छोका रुपमा आफ्नो देशको नाम राख्ने काम गरेको स्मरण गरे। “आफूलाई सम्पूर्णरुपमा समाजसेवामा समर्पित गर्नुभएको छ, त्यस्तो व्यक्तिलाई समर्थन गर्न पाउनु अत्यन्त खुसीको विषय हो”, उनले भने, “रानामगरलाई राप्रपाको पूर्ण समर्थन छ। सबै पार्टी र सांसदलाई उहाँको पक्षमा मतदान गर्न अपिल गर्न चाहन्छु।”
उपसभामुख पदका अर्का उम्मेदवार मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले सभामा प्रस्ताव पेस गरे। उक्त प्रस्तावलाई नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले समर्थन गरेका छन्।
प्रस्ताव पेस गर्दै सांसद पाण्डेले संसदीय अभ्यासमा यादव अनुभवी रहेकाले उपसभामुखमा विजयी गराउनुपर्ने बताए। “उहाँले समावेशी संविधान निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ । यस्तै राष्ट्रियसभा सदस्यका रुपमा पनि जनताको प्रतिनिधिका रुपमा काम गर्नुभयो”, सांसद पाण्डेले भने। उक्त प्रस्तावका समर्थक मेटमणि चौधरी र अर्का समर्थक शुक्लाले यादवको योग्यता र क्षमतामाथि विश्वास गरेर मतदान गर्न सबै सांसदलाई आग्रह गरे।







डिसी नेपाल







Facebook Comment