५० हजार वर्षपछि पृथ्वीनजिक आइपुग्दैछ यो दुर्लभ पुच्छ्रेतारा
बीबीसी। एउटा दुर्लभ खालको हरियो पुच्छ्रेतारा हाम्रो सौर्यमण्डलमा फेरि आइपुगेको छ। फेब्रुअरी १ मा यो खगोलीय पिण्ड उत्तरी गोलार्धमा खाली आँखाले नै देख्न सकिने आशा गरिएको छ।
पुच्छ्रेतारालाई धूमकेतु पनि भनिन्छ। यो धूमकेतु पृथ्वीनजिकै रहेको बाह्य अन्तरिक्षमा ५० हजार वर्षपछि पहिलो पटक आइपुग्न लागेको हो। अनि यो त्यहाँ झन्डै एक महिनासम्म रहने अनुमान गरिएको छ।
अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूका अनुसार उक्त पुच्छ्रेतारा गत वर्ष मार्च महिनामा पहिलो पटक देखिएको थियो। त्यतिबेला उक्त पिण्ड बृहस्पति ग्रहको कक्षभित्र थियो।
यो पुच्छ्रेतारा बरफले बनेको छ।उत्तरी गोलार्धमा दूरबिनबाट हेर्दा यो पिण्डलाई सानो हरियो बत्तीजस्तो देख्न सकिन्छ।
‘हामी केही अणुहरूका सङ्केत खोज्नेछौँ जुन धरतीबाट भेट्न सकिँदैन। ती पृथ्वीको वायुमण्डलमा भएका पदार्थ- जस्तैः पानी, कार्बन डाईअक्साइड, कार्बन मनोक्साइड, मीथेन हुन्,’ नासा वैज्ञानिक डा. स्टेफनी मिल्यामले भनिन्।
यो पुच्छ्रेताराको हरियो, पन्नाको जस्तो रङ्गले यसको रासायनिक संयोजनबारे सङ्केत गर्छ। पुच्छ्रेताराको केन्द्रीय भाग वरिपरि हुने धमिलो आवरणमा सूर्यको प्रकाश पर्दा त्यस्तो रङ्ग देखिन्छ। उक्त बादलजस्तो आवरणमा कार्बनबाट बनेका अणुहरू हुन्छन्।
वैज्ञानिकहरूका अनुसार बुधवार (फेब्रुअरी १) उक्त पुच्छ्रेतारा पृथ्वीको सबैभन्दा नजिक आइपुग्छ।
‘पुच्छ्रेताराहरू अनुमान गर्न नसकिने खालका हुन्छन्। तर यदि यो पुच्छ्रेतारामा अहिले विद्यमान चमकको प्रवृत्ति कायम रह्यो भने यसलाई देख्न सजिलो हुनेछ,’ गत महिना नासाले आफ्नो ब्लगमा उल्लेख गरेको थियो।
‘अँध्यारो आकाशमा यसलाई खाली आँखाले देख्न सम्भव हुनसक्छ।’
पृथ्वीबाट सबैभन्दा नजिक देखिँदा यो खगोलीय पिण्ड ४.२ करोड किलोमिटरको दूरीमा हुने प्ल्यानिटरी सोसाइटीले जनाएको छ।
यसअघि ज्यानुअरी १२ मा यो पुच्छ्रेतारा सूर्यनजिकै पुगेको थियो।
यो पुच्छ्रेताराको नामकरण कसरी भयो?
विश्वभरि भएका वेधशालाहरूले प्रत्येक वर्ष एक दर्जनभन्दा कम पुच्छ्रेतारा पत्ता लगाउँछन्।
नासाले यो बरफिलो पुच्छ्रेताराको नाम C/2022 E3 (ZTF) राखेको छ। यो निकै क्लिष्ट नाम हो।
क्यालिफोर्नियास्थित ज्विकी ट्र्यान्जिअन्ट फ्यासिलिटीले यो पुच्छ्रेतारा पत्ता लगाएको हो।
त्यसैले यसको नामको अन्तिममा उक्त संस्थाको नामको सङ्क्षिप्त रूप जेडटीएफ लेखिएको छ।
तपाईँले अरू पुच्छ्रेताराको नाममा पनि यो सङ्क्षिप्त रूप देख्नुभएकै होला। ती सबै सोही संस्थाले पत्ता लगाएका पुच्छ्रेतारा हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment