पेट्रोलियम उत्पादक देशमा फुट, युएइले ओपेक छाड्यो
काठमाडौं । संयुक्त अरब इमिरेट्स (योएइ) ले पेट्रोलियम निर्यातक राष्ट्रहरूको संगठन ओपेक र ओपेक प्लस बाट बाहिरिने घोषणा गरेको छ । विश्वको तेस्रो ठूलो तेल उत्पादक राष्ट्र युएइले झन्डै ६० वर्ष लामो आबद्धतापछि संगठनबाट बाहिरिने ऐतिहासिक निर्णय गरेको हो।
हिजो अप्रिल २८ मा आधिकारिक घोषणा गर्दै यूएईले आगामी मे १, २०२६ देखि लागू हुने गरी ओपेक र ओपेक प्लस दुवै समूह परित्याग गर्ने जनाएको छ। राष्ट्रिय स्वार्थ र दीर्घकालीन आर्थिक रणनीतिको समीक्षा गर्दै यो कदम चालिएको यूएईको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ।
विशेष गरी साउदी अरबसँगको बढ्दो नीतिगत मतभेद र उत्पादन कोटा प्रतिको असन्तुष्टिका बीच यो निर्णय आएको हो। यूएईले आफ्नो तेल उत्पादन क्षमता दैनिक ५० लाख ब्यारल पुर्याउन अर्बौं डलर लगानी गरिसकेको अवस्थामा ओपेकको कडा उत्पादन सीमाले उसको आर्थिक महत्त्वाकांक्षामा बाधा पुर्याइरहेको थियो।
यस बहिर्गमनसँगै यूएईले अब स्वतन्त्र रूपमा आफ्नो उत्पादन र मूल्य निर्धारण गर्ने बाटो खुलेको छ। विश्लेषकहरूका अनुसार यूएईको यो कदमले विश्वव्यापी तेल बजारमा ओपेकको दशकौंदेखिको दबदबा र नियन्त्रणलाई कमजोर बनाउने सम्भावना छ।
इरानसँगको जारी तनाव र क्षेत्रीय सुरक्षा चुनौतीका बीच आएको यो निर्णयले मध्यपूर्वको भू-राजनीतिमा समेत नयाँ मोड ल्याउन सक्ने देखिन्छ। यूएई बाहिरिएसँगै साउदी अरब नेतृत्वको यस प्रभावशाली संगठनको भविष्य र यसको अस्तित्वमाथि नै गम्भीर प्रश्न उठ्न थालेका छन्, जसले अन्ततः ओपेक विघटनको दिशातिर उन्मुख हुनसक्ने आशंकालाई थप बल पुर्याएको छ।







डिसी नेपाल







Facebook Comment