सन्दीप लामिछाने राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश

डिसी नेपाल
१९ माघ २०७९ १८:११

काठमाडौं । नाबालिक बलात्कारको अभियोग लागेका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सामेल भएका छन् । उनलाई बिहिबार देखि बन्द प्रशिक्षणमा सामेल गराइएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सन्दीपको निलम्बन फुकुवा गरेसँगै उनी बन्द प्रशिक्षणमा सामेल भएका हुन् । खेल्नका लागि तयार पाईएमा उनी राष्ट्रिय टिममा समावेश हुनेछन् । नेपाली टोलीले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजको लागि तयारीमा रहेको छ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज आउँदो फागुन २ गतेदेखि सुरु हुनेछ । सोही सिरिजका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा भईसकेको छ ।

एक नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । क्यानले गत भदौ २३ गते सन्दीपलाई निलम्बन गरेको थियो । सन्दीपविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।

गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । यता, सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा मंगलबार निवेदन परेको थियो।महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको आदेश बदरको माग गर्दै सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको हो ।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *