लामीडाँडा बिमानस्थलमा उडान नहुँदा होटलमा लाग्यो ताला

डिसी नेपाल
२० माघ २०७९ ७:२५

खोटाङ। खोटाङको लामीडाँडा बिमानस्थलमा उडान बन्द हुँदा दर्जनौं होटल बन्द भएका छन्। रावाबेँसी गाउँपालिका-३ लामीडाँडास्थित विमानस्थलमा २०७३ सालदेखि उडान नहुँदा दर्जनौं होटलमा ताला लागेको हो।

२०२८ सालदेखि सञ्चालनमा आएको लामीडाँडा बिमानस्थलमा उडान नहुँदा स्थानीय होटल तथा पसल सुनसान बनेको छ। बिमानस्थलका कारण आर्थिक केन्द्रका रुपमा विकास हुँदैगएको लामीडाँडामा हिजोआज ग्राहक पाउन छाडिएको स्थानीय व्यवसायी जगत थापाले बताए।

दुई चार वटा बाहेक अन्य होटलहरुमा ताला लागेको छ । होटल तथा पसल अगाडि झारपात पलाएको छ । भिडभाड हुने होटल चल्न छाडेपछि अधिकांश व्यवसायी पुरानै पेशा खेतीपातीतिर फर्किएका छन्।

खोटाङका तीन वटा बिमानस्थलमध्ये लामीडाँडा बिमानस्थल सबैभन्दा पुरानो बिमानस्थल हो। पर्यटकीय सिजनमा लामीडाँडा बिमानस्थलमा एकैदिन हजाइजहाज र हेलीकोप्टर गरी ६० देखि ६८ फ्लाईट हुन्थ्यो। यात्रुको ओहोर-दोहोरले होटल र पसलमा ग्राहक भरिभराउ हुन्थे।

फ्लाईट क्यान्सिल हुँदा उत्तिकै मात्रामा यात्रु रोकिन्थे। तर, कच्ची र धुलाम्मे बिमानस्थल हुँदा नियमित उडान भइरहेको बिमानस्थलमा कालोपत्रे गरेपछि भने उडान हुन छाडेको लामीडाँडाका वडासदस्य महेशकुमार श्रेष्ठले बताए।

कालोपत्रे गरिएपछि लामीडाँडामा २०७६ असार ३ गते परिक्षण उडान भरिएको थियो। त्यस यता बिमानस्थललाई परिक्षण उडानमै सिमित राखिएको छ। २०७३ असोज १९ गतेदेखि सुरु गरिएको बिमानस्थल कालोपत्रेको काम २०७५ चैत २८ गते सकिएको थियो। सेड्युल बनाएर उडान नहुँदा र यात्रु नपाउँदा लामीडाँडामा उडान बन्द भएको हो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित मनमायाँ राई खानीडाँडा बिमानस्थल र खोटेहाङ गाउँपालिका-४ बड्कादियालेस्थित थामखर्क विमानस्थल सञ्चालनमा आउनु अगाडि लामीडाँडा बिमानस्थल जिल्लाको एक मात्र हवाई यात्राको माध्यम थियो।

लामीडाँडामा दैनिक यात्रुको घुईचो लाग्ने गरेको थियो। होटल तथा व्यापार व्यवसाय फस्टाउँदो थियो। होटलबाट स्थानीय व्यवसायीले राम्रो आम्दानी गर्दैआएका थिए।

तर हिजोआज बैंकमा आउने सेवाग्राहीको कारण मात्र लामीडाँडामा केही जमघट हुने गरेको देखिन्छ। उडान नहुँदा रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिका, ओखलढुंगाको कुइभीर र सोलुखुम्बुका केही स्थानका स्थानीय बढी मारमा परेका छन्।

यातायात, पर्यटन, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा उत्तिकै अशर परिरहेको छ। उडान नहुँदा बिरामी र अशक्तलाई उपचारका क्रममा अन्यत्र लैजान समस्या भइरहेको रावाबेँसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए।

सोलुखुम्बु, पाथीभरा, हलेसी सिजनमा लामीडाँडामा पार्किङ अभावमा जहाज र हेलीकोप्टरलाई आकाशमै होल्डमा राखेर अवतरण गराइन्थ्यो। पर्यटकीय सिजनमा धेरैजसो सोलुखुम्बुको लुक्ला ओहोर दोहोर गर्ने जहाजलाई लामीडाँडामा ‘वेटिङ फ्लाईट’ गराइन्थ्यो।

तर कालोपत्रे बिमानस्थलमा परिक्षण उडानपछि सिता एयरको जहाजले दुई पल्ट उडान भर्नु बाहेक अन्य उडान हुन सकेको छैन। यसबीचमा मौसमका कारण लुक्ला र फाप्लुबाट डाइभर्ट भएका हेलीकोप्टरले १०/१५ पटक ‘वेटिङ फ्लाईट’ गरेको स्थानीय बताउँछन्।

पछिल्लो समय खोटाङमा बैकल्पिक बिमानस्थल सञ्चालनमा आए। सँगसँगै गाउँ-गाउँ पुग्ने सडक सञ्जाल विस्तार भए। अहिले यात्रु लिनकालागि घर घरमै जिप पुग्न थालेको छ। त्यसका कारण पनि लामीडाँडा बिमानस्थलमा नियमित उडान हुन नसकेको स्थानीय युवा नेता खेमराज देउसालीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *