उच्च अदालतको आदेश– पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

डिसी नेपाल
२३ माघ २०७९ १६:५४

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन आदेश दिएको छ । नाबालिक बलात्कार अभियोगमा जेल जीवन बिताइरहेका शाहसहित दुवै पक्षलाई झिकाउन उच्च अदालतले आदेश दिएको हो ।

जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलाको विरुद्ध दिएको पुनरावेदनमाथि छलफल गर्दै सोमबार उच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश दिएको हो ।

जिल्ला अदालतको फैसलाविरुद्ध  जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुवै पक्षले दिएको पुनरावेदनमाथि शुक्रबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश दिएको हो ।

सो आदेशसँगै अब शाहलाई १५ दिनभित्र उच्च अदालत पोखरामा उपस्थित गराउनुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *