विश्वासको मत प्राप्त गर्न नसकेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेशसभाको बुधबारका लागि बोलाएको बैठक स्थगित गरिएको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको थियो। प्रदेश सरकारको आग्रहअनुसार बिहीबार दिउँसो १ बजे बस्नेगरी बुधबारको बैठक स्थगित गरिएको हो।
रावल गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले बुधबार विश्वासको मत लिने प्रदेशसभा बैठकको कार्यसूची थियो। तर, प्रदेशसभा सचिवालयले सूचना जारी बैठक स्थगित गरिएको जानकारी दिएकाे हाे।
मुख्यमन्त्री रावललाई नागरिक उन्मुक्ति पार्टीले मत दिने वा नदिने भन्ने बारेमा प्रष्ट धारणा दिएको छैन। नागरिक उन्मुक्तिसंँग ७ जना प्रदेश सभा सदस्य रहेकोमा सबै काठमाडाैँमै छन्।
नागरिक उन्मुक्ति पार्टीविना प्रदेश सभामा विश्वासको मत नपाइने देखिएपछि सरकारले बुधबारका लागि आह्वान गरिएको प्रदेशसभा बैठक स्थिगित गरेको हो। मुख्यमन्त्री रावलले बिहीबारसम्म विश्वासको मत पाउन नसकेमा उनी पदमुक्त हुनेछन्।
नागरिक उन्मुक्ति पार्टीसहित नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपाको समर्थनमा राजेन्द्र रावल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। बिहीबारसम्म विश्वासको मत पाउन नसकेको स्थितिमा प्रदेशसभाको ठुलो दलको संसदीय दलको हैसियतमा नेपाली कांग्रेसका कमल शाह मुख्यमन्त्रीमा नियुक्त हुनेछन्।
Facebook Comment