प्रचण्डका खास दिन : पुस १० ले प्रधानमन्त्री बनायो, २६ ले अविश्वास जन्मायो

अब फागुन १३ निर्णायक

शरद रिजाल
८ फागुन २०७९ ६:४२

काठमाडौं। नेकपा(माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुस महिना खास देखिएको छ। मंसिरमा सम्पन्न चुनावमा प्रचण्डको दल माओवादी केन्द्र कमजोर हैसियतमा तेस्रो दल भए पनि उनी पुस महिनाले तेस्रो पटक प्रधानमन्त्री बनाएको छ।

तर , यही पुस महिनाकै एक अर्को दिन २६ गते सदनमा प्राप्त गरेको अभूतपूर्व विश्वासको मतले सत्ता साझेदार दलकोे उनीप्रतिको विश्वसनियता नै गुमाउँदै लगेको देखिन्छ।

गएको निर्वाचनमा कांग्रसेसँग गठबन्धन गर्दै चुनावमा होमिएका प्रचण्ड त्यसयता फेरि एमालेसँग सत्ता सहकार्य गर्न पुगेका थिए। कांग्रेससँग बार्गेनिङ चलिरहेको बेला अचानक एमाले अध्यक्ष केपी आली निवास बालकोट पुगेर पुस १० गते प्रधानमन्त्री बनेका थिए।

त्यस लगत्तै १६ दिनपछि उनले पुस २६ गते संसदबाट अविश्वसनीय रुपले विश्वासको मत प्राप्त गरे। उनले सदनका बहुसंख्यक सांसदहरुको मत प्राप्त गर्न सफल भए।

यसले उनलाई सबैको विश्वास आर्जन गरेको अनुभूति दिलायो तर आफैंलाई प्रधानमन्त्री बनाएको एमाले सशंकित रहेकोमा उनी कति जानकार थिए? या त्यो उनको कुटनीतिक कदमको उपज थियो? प्रश्न अनुत्तरित छ तर त्यसको सम्भावित परिणाम केही दिनयता बिस्तारै छरपष्ट हुँदैछ।

चुनावी सहकार्य गर्दै सत्ता सहकार्यको प्रण गरेर बीचमै धोका दिएको कांग्रेसलेसमेत उनलाई विश्वासको मत दियो। त्यही कांग्रेसले दिएको विश्वासको मतले नै अहिले प्रचण्डलाई राजनीतिक रुपमा कठिन अवस्थामा पुर्‍याएको छ।

कांग्रेसले दिएको विश्वासको मतलाई त्यतिबेला एमाले अध्यक्ष ओलीले खोलामा ढोक्सा थापेको बताएका थिए। तराईमा माछा मार्न प्रयोग गरिने एक प्रकारको साधनको संज्ञा दिँदै उनले सदनमै कांग्रेसले थापेको ढोक्सामा माछा नपर्ने संकेत दिलाएका थिए।

उनको उक्त संकेत हालसम्म आउँदा सहि साबित हुने त होइन? भन्ने प्रश्न नेपाली राजनीतिको सतहमा प्रबल रुपमा आएको छ।
ओलीले संकेत गरेजस्तै उनकै शब्दमा कांग्रेसले आफ्नो भागमा ढोक्सारुपी विश्वासको मतबाट माछारुपी राष्ट्रपति पाउने सम्भावना समेत बढेको बताइन्छ।

सोही कारण प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिने आशयको आफ्नो अभिब्यक्तिमा राष्ट्रिय सहमतिको जलप लगाउँदै आएका छन्।
उनको राष्ट्रिय सहमतिको जलपको रङ अब फागुन १३ गतेसम्म मात्र कायम रहने देखिन्छ।

किनभने सोही दिन निर्वाचन आयोगको राष्ट्रपति निर्वाचनको कार्यतालिका अनुसार मनोनयन दर्ता गर्ने दिन हो। अब उनको राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अभिब्यक्ति के रहेछ भन्ने उजागर हुने समयावधि क्रमश नजिकिँदै आएको छ।

मनोनयको दिन नजिकिँएसँगै प्रचण्डका केही समय अगाडिका सहयात्री नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले सरकारको भविष्य एक साता भएको टिप्पणी गरिसकेका छन्।

उनले आइतबार अनेरास्ववियूको एक कार्यक्रममा वर्तमान सरकारको भविष्य एक हप्तामै टुंगो लाग्ने बताएका हुन्। उनले सरकारको आयु तोकिसकेका छन्।

एमाले अध्यक्ष ओलीसँगको तिक्तताका कारण वर्तमान गठबन्धनमा सामेल नभएका नेपालले केही दिन यता अहिलेको गठबन्धन विरोधी अभिब्यक्ति तीव्रताका साथ दिइरहेका छन्। उनको सक्रियता पुरानै कांग्रेससहितको गठबन्धनलाई निरन्तरता दिन बढिरहेको समेत बताइन्छ।

यता सत्ता साझेदार प्रमुख घटक एमाले अध्यक्ष ओलीले फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने बताएका छन्। आइतबार विराटनगर पुगेका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै १३ गते उम्मेदवार घोषणा गर्ने बताएका छन्। राष्ट्रपति एमालेकै उम्मेदवार बन्ने उनको दाबी छ।

पछिल्लो समय राष्ट्रपतिको निर्वाचनले नेपालको राजनीति निकै पेचिलो बन्दै गएको छ। यही समयमा छिमेकी मुलुक भारतको सक्रियतासमेत बढेको छ। उता कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत राष्ट्रपति हुने आकांक्षा ब्यक्त गर्दै अन्य दलसँगको भेटवार्ता तीव्र बनाएका छन्।

उनले शनिबाार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरी राष्ट्रपतिमा आफूलाई सघाउन आग्रह गरेको चर्चा छ। उनी राष्ट्रपति निर्वाचनको सन्निकट प्रधानमन्त्री प्रचण्डसँग नियमित सम्पर्कमा रहेको समेत बताइन्छ।

कांग्रेसले प्रस्ताव गरेको उम्मेदवारको पक्षमा प्रचण्डले समर्थन गर्छन् या सत्ता साझेदार दल जसले उनलाई प्रधानमन्त्री बनायो सोही दलको उम्मेदवारप्रति सदाशयता राख्छन्। सोही दिन नै अहिलेको सत्ता गठबन्धनको भविष्यको निर्णायक दिन हुने राजनीतिक वृत्तमा आँकलन गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *