नारायणी पुल झिलीमिली

डिसी नेपाल
१९ फागुन २०७९ १२:१६
428
Shares

चितवन। गत जेठमा हावाहुरीले सम्पूर्ण विद्युत् पोल ढालेसँगै अन्धकार बनेको नारायणगढस्थित नारायणी पुल झिलीमिली बनेको छ।

भरतपुर महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाले पुलमा पोल राखेर स्मार्ट बत्ती जडान गरेसँगै पुल क्षेत्र झिलीमिली बनेको हो।

महानगर प्रमुख रेनु दाहालले पुलमाथिका स्मार्ट बत्तीको बिहीबार साँझ शुभारम्भ गरेकी हुन्। डिजिटल पद्धतिबाट पोलमा बत्ती बाल्न मिल्ने गरी जडान गरिएको छ।

प्रमुख दाहालले महानगरलाई उज्यालो सहर बनाउने अभियानअन्तर्गतको पहिलो कार्यक्रममा पारेर नदीको पुलमाथि १४ वटा पोलमा बत्ती जडान गरिएको बताए। ती बत्ती साँझको समयमा आफैँ बल्ने र चहकिलो एवं मधुरो बनाउन मिल्ने छ।

उनले भनिन्, “अँध्यारोले रातको समयमा हिँड्डुल गर्नेलाई समस्या भएको थियो, बत्ती बालेसँगै समस्या हल भएको छ।”

प्राधिकरणसँग महानगरले साझेदारीमा नगर क्षेत्रमा स्मार्ट बत्ती जडान गरिरहेको छ। यो पुलले भरतपुर महानगरपालिकाको नारायणगढ र गैँडाकोट नगरपालिकाको गैँडाकोट जोड्दछ । यही बाटो हुँदै पूर्वपश्चिम राजमार्ग आवतजावत गर्ने सवारी साधन पनि चल्ने गर्दछन्। पुलमा बत्ती बालेसँगै यात्रु लाभान्वित भएका हुन्।

महानगरले पहिलो चरणमा ७८ दशमलव एक किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने काम अन्तिम चरणमा पुर्‍याएको छ। दोस्रो चरणमा एक सय १८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न बोलपत्र आह्वान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *