उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्यु भएपछि नोएडाको औषधि कम्पनीको लाइसेन्स निलम्बित

डिसी नेपाल
९ चैत २०७९ ११:३०

काठमाडौं । उज्बेकिस्तानमा १८ बालबालिकाको मृत्युको सम्बन्धमा नमूनाहरू असफल भएपछि उत्तर प्रदेशको औषधि नियामकले नोएडास्थित कम्पनी मेरियन बायोटेकको लाइसेन्स रद्द गरेको छ।

यस महिनाको सुरुमा नै केन्द्र सरकारले यूपी ड्रग कन्ट्रोलर अथोरिटीलाई यस कम्पनीको लाइसेन्स रद्द गर्न सिफारिस गरेको थियो। मेरियन बायोटेकबाट लिएका ३६ नमूनामध्ये २२ वटा परीक्षण असफल भएपछि केन्द्रले यस्तो सुझाव दिएको हो ।

मनी कन्ट्रोल वेबसाइटले उत्तर प्रदेश खाद्य सुरक्षा र औषधि प्रशासनका सहायक आयुक्त सन्दीप कुमार चौरसियालाई उद्धृत गर्दै लेख्छ “हामीले लाइसेन्स रद्द गरेका छौं। अब नोएडाको प्लान्टमा उत्पादन हुने छैन। प्लान्टबाट लिइएका औषधिको नमूनामा मिसावट भेटिएपछि लाइसेन्स रद्द गर्ने प्रक्रिया सुरु भयो।”

समाचार एजेन्सी एएनआईका अनुसार कम्पनीबाट लिइएको औषधिको नमूनामा एथिलिन ग्लाइकोल रसायन भेटिएको थियो ।

उज्वेकिस्तानमा पिएपछि बालबालिकाको मृत्यु भएको दाबी गरिएको कफ सिरप मेरियन बायोटेक कम्पनीले आपूर्ति गरेको हो ।

गत वर्षको डिसेम्बरमा उज्वेकिस्तानमा कफ सिरप पिएपछि १८ बालबालिकाको मृत्यु भएपछि कम्पनी छानबिनमा परेको थियो ।

कम्पनीले बनाएको कफ सिरप डोक–१ पिउँदा बालबालिकाको मृत्यु भएको दाबी गरिएको छ । यसपछि केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले यस विषयमा छानबिन गर्न आदेश दिएको थियो।

नोएडा प्रहरीले नक्कली औषधि उत्पादन र बिक्री गरेको आरोपमा केही दिनअघि सोही कम्पनीका तीन कर्मचारीलाई पक्राउ गरेको थियो । यसबाहेक कम्पनीका दुई सञ्चालकलाई लुकआउट नोटिस समेत जारी गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *