चितवनमा रक्तदाता घटेपछि बढ्दैछ रगतको अभाव

डिसी नेपाल
९ चैत २०७९ १६:४७

चितवन। रक्तदाताका रूपमा रहेका युवा वर्ग रोजगार तथा अध्ययनका सिलसिलामा जिल्ला बाहिर जाँदा चितवनमा रगतको चरम अभाव हुन थालेको छ ।

अठार देखि ६० वर्ष उमेर समूहले रक्तदान गर्न सक्ने भए पनि ४० वर्षसम्म रक्तदान गर्ने उपयुक्त उमेर मानिन्छ । सोही उमेर समूहका व्यक्ति काम तथा अध्ययनका लागि बाहिरिँदा रगतको अभाव हुन थालेको हो ।

यहाँ रक्तसञ्चार केन्द्रले रगत सङ्कलनका लागि शिविर सञ्चालन गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेलले युवा जनशक्ति पलायन हुँदा रगतको अभाव बढ्दै गएको बताए ।

विगतमा एउटा शिविरमा ७० देखि एक सय युनिट रगत सङ्कलन हुने गरेकामा हाल ३० देखि ५० युनिट मात्र सङ्कलन हुने गरेको छ । उनका अनुसार कतिपय शिविरमा १०–१५ युनिट मात्रै रगत सङ्कलन हुने गर्दछ । कुनै दिन चार वटा शिविरबाट रगत सङ्कलन गर्दा समेत एक सय युनिट पुर्‍याउन मुस्किल हुने पौडेलको भनाइ छ ।

“एक वर्षमा तीन सयसम्म रक्तदान कार्यक्रम सञ्चालन हुने गरेको छ । दश जोड दुई पढेर अध्ययनका लागि बाहिर गएको जनशक्ति तथा रोजगारीका लागि बाहिरिने युवा मुख्य रक्तदाता हुन्”, उनले भने । यो जनशक्ति बाहिरिँदा रगतको अभाव भएको हो ।

यहाँ क्यान्सरका बिरामी, दुर्घटनाका घाइते, शल्यक्रियामार्फत् गरिने प्रसूति र अन्य उपचारमा रगत धेरै माग हुने गर्दछ । दैनिक चितवन र छिमेकी जिल्लाबाट उपचारका लागि आउने बिरामीका आफन्त रगतको खोजीमा भौतारिन बाध्य छन् ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार चैतदेखि साउनसम्म गर्मीको मौसममा रगतको अभाव बढ्ने गरेको छ । दैनिक एक सय ५० युनिटको हाराहारी रगतको माग हुने गर्दछ । यहाँ सञ्चालन हुने शिविरमा ७५ युनिट मात्रै रगत सङ्कलन हुने गरेको छ । बाँकी अपुग रगत बिरामीका आफन्तले आफन्त, इष्टमित्र, छरछिमेकी, स्वयंसेवी रक्तदाता र विगतमा रक्तदान गरेकाहरुको खोजी गरी व्यवस्थापन गर्दै आएका छन् ।

केन्द्रले चितवनसहित छिमेकी जिल्लामा रक्तदान कार्यक्रम गरेर रगत सङ्कलन गर्ने गरेको छ । गत आर्थिक वर्षमा ती जिल्लाबाट मात्रै शिविरमार्फत् तीन हजार युनिट रगत सङ्कलन गरिएको थियो ।

पोखराबाट प्रशोधन गरिएको दुई हजार पाँच सय युनिट रगत ल्याएर बिरामीलाई चढाइएको थियो । कलेजो प्रत्यारोपण गर्न रगत अभाव भएपछि बिरामीका आफन्तले काठमाडौँबाट दुई सय ५० युनिट रगत यहाँ झिकाएका थिए ।

रगत सङ्कलनका लागि चितवनबाट सर्लाहीसम्म पुग्नु परेको सभापति पौडेलको भनाइ छ । उनले व्यापकरूपमा रक्तदानसम्बन्धी जनचेतना कार्यक्रम आवश्यक रहेको समेत बताए । खेर जाने रगतले कसैको ज्यान बच्छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।

जिल्लामा वार्षिक ५० हजार युनिट हाराहारी रगतको माग हुने गरेकोमा ६० प्रतिशत मात्रै सङ्कलन हुने गरेको पौडेलले बताए । उनका अनुसार रक्तदातालाई उत्प्रेरित गर्न स्थानीय तहले रक्तदान कार्यक्रममा सहयोग गर्दै आएका छन् । जिल्लामा सङ्घीयस्तरको दुई ठूला अस्पताल, दुई मेडिकल कलेज, २० निजी अस्पताल सञ्चालनमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *