पत्रकारिताबारे अनुभव नहुनेले अनलाइन सञ्चालन गर्दा चुनौती बढ्योः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
काठमाडौं। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन सञ्चारमाध्यममा समाचारलाई विश्वसनीय र सन्तुलित बनाउन पत्रकार आचारसंहिता कार्यान्वन गर्नुपर्ने बताएका छन्।
आज यहाँ काउन्सिल नेपालले नियमितरूपमा सञ्चालन गर्दै आएको अभिमुखीकरणको २२औँ शृङ्खलामा उनले नयाँ दर्ता भएका अनलाइन सञ्चारमाध्यमका सञ्चालक र सम्पादकलाई विश्वसनीय, सन्तुलित र खोजमूलक समाचार सामग्री प्रकाशन गर्न सुझाव दिएका हुन्।
उनले भने, “अनलाइन सञ्चारमाध्यम विश्वसनीय र सन्तुलित बन्न सकेका छैनन्। अनलाइन सञ्चारमाध्यमको सङ्ख्या वृद्धि भएको छ। तर स्रोत, साधन र व्यवस्थापनमा अभाव कायम छ।”
अध्यक्ष बस्नेतका अनुसार पत्रकारिता अध्ययन गरेका भन्दा बाहिरका व्यक्ति आमसञ्चारमाध्यमको सञ्चालनमा आबद्ध हुने क्रम बढेको हो। त्यसकारण पनि पत्रकार आचारसंहिता र निर्देशिकासम्बन्धी अभिमुखीकरण कार्यक्रम आवश्यक भएको उनको भनाइ छ।
“परिचयपत्र पाइन्छ, ज्याकेट लगाउन पाइन्छ, पहुँच बन्छ भन्ने हिसाबले पनि सञ्चारमाध्यम दर्ता गर्नेको भीड देखिन्छ। त्यस्ता सञ्चारमाध्यमका सञ्चालक सुरुमा धेरै उत्साही हुने तर काम गर्दै जाँदा झारा टार्ने प्रवृत्ति र हुबहु सार्ने प्रवृत्ति देखिएको छ”, उनले भने। उनले गुणस्तरीय पत्रकारिता गर्न सहभागीलाई सुझाव दिए।
आचारसंहिता अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक पत्रकार सुरेशप्रसाद आचार्यले पत्रकारिता अनुभव नभएका व्यक्तिलाई अनलाइन सञ्चारमाध्यम सञ्चालन चुनौतीपूर्ण भएको बताए।
“पत्रकारिता गर्दैगर्दा त्यसको आधारभूत मूल्य, मान्यताबारे जानकार हुनुपर्छ। पत्रकारिताको अनुभव र सीपको अभावमा नजानेर पनि गल्ती भइरहेको हुन्छ। धेरै साथीहरू पत्रकारिताको अनुभवबिना आउँदा गुणस्तरीय पत्रकारितामा चुनौती थपिएको छ।”
उनका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा हरकोही पत्रकारजस्ता देखिन्छन्। तर आमसञ्चारमाध्यममा आउने जो–कोही पत्रकार होइनन्। “अरुभन्दा फरक हुन, जिम्मेवार, तथ्यपरक र खोजमूलक समाचारका लागि आउने हो”, उनले भने। आचार्यले आमसञ्चारमाध्यमको पहुँचको प्रलोभनमा अनलाइन सञ्चारमाध्यम सञ्चालन नगर्न आग्रहसमेत गरे।
काउन्सिल नेपालले नयाँ सूचीकृत अनलाइन सञ्चारमाध्यमका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण दिँदै आएको छ। प्रवक्ता दीपक खनालले आचारसंहिता अभिमुखीकरण कार्यक्रमले एक वर्ष पूरा गरेको जानकारी दिए।
गत वर्ष २०७८ चैत ११ गतेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमा विभिन्न छ सय ७१ अनलाइन सञ्चारमाध्यमका एक हजार ४० जना सहभागिता जनाएका छन्। अध्यक्ष बस्नेतको नेतृत्वमा प्रशिक्षणको कार्यक्रम अघि बढेको हो।
उनले भने, “अनलाइन सञ्चारमाध्यमको सङ्ख्या तीन हजार बढी पुगेको छ। आचारसंहिता उल्लङ्घनको उजुरी र गुनासा पनि यही सञ्चारमाध्यमको धेरै छ। नयाँ दर्ता भएका अनलाइन सञ्चारमाध्यमलाई अभिमुखीकरण दिइरहेका छाँै।”
अभिमुखीकरणका लागि काउन्सिलले सञ्चारमाध्यमबाट रकम सङ्कलन गर्ने गरेको छ। सीमित स्रोत साधनका बाबजुद अभिमुखीकरण कार्यक्रमको सकारात्मक प्रतिक्रिया आउने गरेको उनले बताए।
“विभिन्न आमसञ्चारमाध्यमको अनुभव भएका पत्रकार केही प्रतिशत हुनुहुन्छ। अन्य क्षेत्रमा संलग्नको आकर्षण बढी देखिन्छ। पत्रकारिताबारे कम अनुभव र कम जानकार सञ्चालकका लागि यस कार्यक्रम प्रभावकारी भएको पाएका छाँै। सहभागीहरूबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ”, उनले भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment