राजनीतिक रजगज गरेका चर्चित नेताहरुको गुप्तवास

गृहमन्त्री नफाप्ने नेपाली राजनीति, अधिकांश पूर्वगृहमन्त्री गुमनाम

शरद रिजाल
११ चैत २०७९ ८:४४

काठमाडौं। नेपालको राजनीतिमा पछिल्लो समयमा केही चर्चित राजनीतिक अनुहार पछिल्लो समय गुमनाम छन्। समयक्रमले हो या उनीहरुको उपादेयता सकिएर फेरि पुर्नस्थापित हुने पर्याप्त आधार समेत उनीहरुले गुमाएका छन्।

उसो त नेपाली राजनीतिमा असम्भव केही हुँदैन भन्ने युक्ति चर्चित छ। यी आजभोलि गुमनाम भएका राजनीतिका चतुर खेलाडीहरुको फेरि कमब्याक नहोला भन्न सकिन्न। तर, हालसम्मका उनीहरुका राजनीतिक गतिविधि र सक्रियताले पुनःपूर्ववत अवस्थामा फर्किने कुनै गुञ्जायस देखिँदैन।

एकातिर घर्किँदो उमेर अवस्था र उनीहरुले अबलम्वन गरेको राजनीतिक विचारधाराले समेत उनीहरुलाई उम्कन दिने अवस्था छैन। अब पुरानै विरासत कायम हुने प्रचुर संभावना उनीहरुको हकमा देखिँदैन। तीमध्ये केही पात्रहरुको यहाँ चर्चा गर्ने प्रयत्न गरिएको छ।

नेपालको राजनीतिमा बादल उपनामले परिचित रामबहादुर थापा कुनै नौलो नाम होइन। तत्कालीन जनयुद्धकालमा नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक सारथी हुन् बादल। तर, पछिल्लो समयमा तीनै बादल गुमनाम भएका छन्।

माओवादीले सुरु गरेको जनयुद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बादल प्रचण्डकै समकक्षीका रुपमा चिनिन्थे। त्यतिबेलाका शीर्ष नेताहरुमध्ये प्रचण्डसहित मोहन वैद्य किरण, बादल, बाबुराम भट्टराई यिनैलाई नै लिइन्थ्यो।

सोही जनयुद्धमा यी नेताहरुको आफ्नै विशिष्ट भूमिका र पृथक विशेषताको संयोजनले नै माओवादीले छोटो समयमै विद्रोेही शक्तिका रुपमा गुणात्मक फड्को मारेको थियो।

यी मध्ये अधिकांश सहकर्मी अलग भइसकेका छन् तर राजनीतिक रुपमा सक्रियता कायम राखिरहेका छन्। बादलको भने पछिल्लो समय कुनै राजनीतिक भूमिका नभएको जस्तै देखिएको छ।

जसरी प्रकृतिमा घाम लागेपछि बादल फाँट्छ अनि पानी परेपछि बादलको उपादेयता सकिन्छ। अझै भनौं बादलको महत्व पानी परुञ्जेलसम्म मात्रै रहन्छ त्यसपछि त्यसको अस्तित्व नै सकिन्छ।

तथापि नया चक्रबाट प्रकृतिमा बादल बन्ने क्रम निरन्तर चलिरहन्छ। उनको जीवनमा यो प्राकृतिक नियम लागू भएन। माओवादीमा ओजस्बी छवी रहेको बादल माओवादीमा होउञ्जेल चर्चामा थिए। आजभोलि एमालेमा पुगेर चर्चाविहीन बनेका छन्।

हिजोको उनको रजगज आज एमाले बन्दा देखिँदैन। तथापि उनी एमालेमै दिल फुकाएरै बसेका छन्। प्रचण्डप्रति उनको कुनै गुनासो छैन। सुरक्षा निकायको तालुकदार रक्षा र गृह दुई वटा मन्त्रालय सम्हालेका उनी माओवादी जनयुद्धकालमा समेत सैन्य विभागका प्रमुख थिए।

श्रीमती नैनकला थापालाई सांसद बनाएका उनले एमालेको दशौं महाधिवेशनबाट उपाध्यक्ष भएका छन्। उनी सोही जिम्मेवारी वहन गर्दै एमालेको राजनीतिमा लागेका छन्। उनकै अध्यक्ष केपी शर्मा ओलीले माओवादीले सुरु गरेको जनयुद्धलाई हिंसाको संज्ञा दिँदा समेत उनी प्रतिक्रियाविहीन देखिन्छन्।

उसोत नेपाली राजनीतिम कुनै समय कहलिएका पात्रहरु आज धेरै नै गुमनाम छन्। कतिपय स्वेच्छाले गुमनाम भएका छन्। भने कतिपयलाई परिस्थितिले गुमनाम बनाइदिएको छ।

बादल जस्तै गुमनाम भएका पात्रहरुमध्ये अर्का एमाले नेता बामदेव गौतम हुन्। उनी पनि कुनै समय नेपालको राजनीतिमा चर्चित र महत्वपूर्ण पदमा विराजमान भएका नेता थिए। तर, हाल उनी पनि गुमनाम देखिन्छन्। ललितपुरको भैंसेपाटीस्थित घरमा दिनचर्या बिताइरहेका छन्।

नेकपा (एकता अभियान) नामक पार्टी गठन गरेका उनको राजनीतिक सक्रियता उल्लेख्य देखिँदैन। राष्ट्रियसभाका सदस्य रहेका उनी यदाकदा सदनमा झुल्किन्छन्।

२०५४ सालमा एमाले विभाजन गरेका गौतम माले पुनर्गठन गर्दै त्यसको महासचिव बनेका थिए। त्यतिबेलाउनी सँग एमालेका अधिकांश नेताहरु साथमा थिए।

त्यस्तै पटक पटक गृहमन्त्री पदमा आसिन भए तर विवादरहित रहन सकेनन्। दिवंगत शुशील कोइराला नेतृत्वको सरकारमा पछिल्लो पटक गृहमन्त्री बन्दा पुलिस चौकीमा छिर्न डर लाग्छ भनेर दिएको अभिब्यक्तिले सर्बाधिक चर्चामा पुर्‍यायो।

उनले एक कार्यक्रममा बहालवाला गृहमन्त्रीको हैसियतमा बोल्दै गर्दा प्रहरी कार्यालयमा जान डर लाग्ने बताउँदै कतै प्रहरीले गलहत्याएर फाल्ने त होइन? भन्ने अभिब्यक्ति निकै चर्चित बनेको थियो।

नियमित नयाँ फण्डा गर्दै आएका गौतम आजभोलि नेपाली राजनीतिमा भूमिका विहीन जस्तै देखिएका छन्। उनको खोजी यदाकदा नेपाली सञ्चारमाध्यमले बाहेक नेपालको राजनीतिले त्यति चासो लिएको देखिँदैन। नेपालको राजनीतिमा एक संयोग नै मान्नुपर्छ यी दुवै पूर्व गृहमन्त्री नै हुन्।

यस्तै पछिल्लो समय गुमनाम भएका अर्का नेता गाविन्दराज जोशी हुन्। उनी पनि नेपाली राजनीतिमा सर्वत्र ओझेलमा परेका पात्रमा पर्दछन्। कुनै समय नेपालको गृहमन्त्री भएर नेपाली राजनीतिमा रजगज गरेका उनी अहिले सर्वाधिक गुमनाम नेताको सूचीमा पर्दछन्। उनको राजनीतिक हैसियत समेत पार्टीविहीनताको अवस्थामा पुगेको छ।

उनी जीवनभर आवद्ध नेपाली कांग्रेसबाट निष्कासित भइसकेका छन्। अघिल्लो २०७४ को निर्वाचनमा आफ्नो उम्मेदवारी खारेज भएपछि कांग्रेस भएरै अर्कै दलको उम्मेदवारलाई जिताउन लागेका थिए। यसपालीको निर्वाचनमा तनहुँ-१ मा स्वतन्त्र उम्मेदवारी दिएका उनले सन्तोषजनक मत ल्याएपनि निर्वाचन जित्न सकेनन्।

आफ्नो राजनीतिक उत्तराधिकारी यसपालीको स्थानीय निर्वाचनमार्फत छोरालाई बनाउने प्रयत्नमा लागका थिए। छोरा दिपकराज जोशीको राजनीतिक भविष्य सुनिश्चित गर्ने दाउमा एमालेको सहयोगमा स्थानीय तहको निर्वाचनमा तनहुँबाट उम्मेदवारी दिन लगाएका थिए। तथापि मतपरिणाम उनको पक्षमा आउन सकेन।

कुनै समय कांग्रेसको सहमहामन्त्री, २०५६ को निर्वाचनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री र स्थानीय विकास मन्त्री त्योभन्दा पहिले २०४८ देखि २०५१ सम्म शिक्षा, संस्कृति तथा समाजकल्याण मन्त्री रहेका जोशीको राजनीतिक उपादेयता सकिएर गुमनाम भएको देखिन्छ।

पूर्वगृहमन्त्री रहिसकेका कांग्रेस नेता विजयकुमार गच्छादार पनि आजभोलि गुमनाम देखिएका छन्। उनी पनि तत्कालीन बाबुराम भट्टराइको सरकारमा गृहमन्त्री बनेका थिए।

लामो समयसम्म मधेश केन्द्रित दल मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नामक पार्टीको नेतृत्व गरेका उनी अन्ततःपुरानै पार्टी कांग्रेसमा फर्किएका थिए। केही समय अगाडि ललिता निवास प्रकरणमा मुछिएर गुमनाम भएका उनी विशेष अदालतमा धरौटी बुझाएर सार्वजनिक भएका थिए। हाल कांग्रेसको राजनीतिमा आबद्ध रहेका उनी सुनसरी ३ बाट पराजित भए।

निरन्तर विजयी हुँदै आएका गच्छादार यसपाली एमालेकी भगवती चौधरीसँग पराजित हुन पुगे। आजभोलि राजनीतिक रुपमा ओझेलमा परेका उनको नेपाली राजनीतिमा खासै चर्चा हुन छाडेको छ।

यस्तै नेपाली राजनीतिका कुनै बेलाका चर्चित पात्र हुन् भीम रावल। यद्यपि उनको आजपर्यन्त सक्रियता कायमै छ। तर, राजनीतिक रुपमा भूमिका विहीन देखिन्छन्। कुनै समय गृह र रक्षा जस्ता महत्वपूर्ण मन्त्रालय सम्हालेका उनी आजभोलि आफ्नै पार्टीमा राजनीतिक भूमिकामा देखिएका छैनन्।

एमालेको दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएका उनले त्यसयता पार्टीमा उचित जिम्मेवारी पाएका छैनन्। पार्टीको पदीय भूमिकामा नदेखिएपनि राष्ट्रिय राजनीतिका ज्वलन्त विषयहरुमा आफ्ना धारणा सुस्पष्ट ढंगले राख्दै आएका छन्।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सक्रियतापूर्वक अभिब्यक्ति दिइरहेका उनी राजनीतिक रुपमा एमालेमै रहेपनि कुनै जिम्मेवारीमा नरहेको आफैंले बताउँदै आएका छन्। एमालेको उपाध्यक्ष भइसकेका रावल आजभोलि राजनीतिक जिम्मेवारीको हिसाबले गुमनाम नै देखिएका छन्।

सहकर्मी नेताहरु एमालेमै र कतिपय विभाजनपछि बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा पुग्दा उनी एमालेमै रहेका थिए। तथापि अहिले कुनै भूमिकामा छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *