दूतावासको महिला शौचालयमा गोप्य क्यामेरा जडान गरेर ६० भिडियो रेकर्ड

डिसी नेपाल
१२ चैत २०७९ १५:३१

काठमाडौं । निकै सुरक्षित मानिने दूतावासमा एक व्यक्तिले जघन्य कार्य गरे । उक्त व्यक्तिले दूतावासको शौचालयभित्र गोप्य रूपमा जासुसी क्यामेरा जडान गरेका थिए । त्यसपछि चुपचाप ६० भिडियो रेकर्ड गरे । उक्त व्यक्तिलाई बैंकक दक्षिण फौजदारी अदालतले यस मुद्दामा २ वर्षको जेल सजाय सुनाएको छ ।

थाइगरको रिपोर्टका अनुसार थाइल्याण्डको राजधानी बैंककमा रहेको अस्ट्रेलियाली दूतावासमा यो कुरा बाहिर आएको हो । दोषी ३९ वर्षीय नयोत बैंक थमसोङ्साना रहेको बताइएको छ । उनी थाइल्यान्डस्थित अष्ट्रेलियाली दूतावासमा आईटी कर्मचारीका रूपमा कार्यरत थिए।

नयोतले चुपचाप ६० महिलाको भिडियो बनाएको घटनासँग सम्बन्धित अनुसन्धान अधिकारीले बताए । सबै पीडित महिलाले रोयल थाइ प्रहरी समक्ष बयान दिएका छन् । यीमध्ये दुई महिलाले आरोपीविरुद्ध उजुरी दिएपछि नयोतविरुद्ध अदालतमा सुनुवाइ भएको थियो ।

यस मुद्दामा न्यायाधीशले नयोतलाई पहिले ४ वर्षको जेल सजाय तोकेका थिए । तर, पछि उनको सजाय २ वर्षमा घटाइयो । फैसला सुनाउँदै न्यायाधीशले नयोतलाई हप्काएका थिए । न्यायाधीशले नयोत समाजका लागि गम्भीर खतरा भएको भन्दै धेरै मानिसलाई भावनात्मक चोट पुर्याउने काम गरेको बताए ।

यस विषयमा अष्ट्रेलियाली दूतावासले बुझाएको प्रतिवेदनमा नायोतको यसअघि कुनै आपराधिक रेकर्ड नभएको खुलासा भएको छ । नयोतलाई सन् २०२२ को जनवरीमा रोयल थाइ प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनलाई आईटी सिस्टम म्यानेजरको जागिरबाट हटाइयो ।

न्यायाधीशले नयोतलाई दुई वर्षको जेल सजाय तोके । साथै दुवै महिलालाई ७०–७० हजार रुपैयाँ क्षतिपूर्ति दिन पनि आदेश दिइएको छ । यो सुनेर नयोत रुन थाले । यसपछि अदालतमा उपस्थित नयोतकी श्रीमतीले उनलाई सान्त्वना दिइन् । त्यसपछि प्रहरी अधिकारीले नयोतलाई हथकडी लगाएर त्यहाँबाट लगेका थिए ।

तर, नयोतले फैसलाविरुद्ध पुनरावेदन गर्न एक महिनाको समय पाउनेछन् । यो फैसला सुनाइरहँदा अष्ट्रेलियाली दूतावासका तीन अधिकारी पनि अदालतमा उपस्थित थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *