पाकिस्तानका गृहमन्त्रीले भने– अब कि इमरान खान छैनन् कि हामी छैनौं

डिसी नेपाल
१३ चैत २०७९ १५:५८

काठमाडौं । पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले पूर्व प्रधानमन्त्री इमरान खानले राजनीतिलाई ‘दुश्मनी’मा परिणत गरेको बताएका छन् ।

राणा सनाउल्लाहका अनुसार पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का प्रमुख इमरान खानले अवस्थालाई ‘त्यो हदसम्म लिएर गएका छन् जहाँ या त उनी रहनेछन् या हामी ।’

एक निजी टिभी च्यानललाई दिएको अन्तर्वार्तामा पाकिस्तानका आन्तरिक मन्त्रीले इमरान खानलाई आफ्नो सत्ताधारी दल आफ्नो अस्तित्व बचाउन कुनै पनि हदसम्म जान सक्ने चेतावनी दिएका छन् ।

इमरान खानलाई आफ्नो पार्टीको ‘दुश्मन’ भन्दै उनले उनीसँग पनि ‘उस्तै व्यवहार’ हुने बताए । राणा सनाउल्लाहले सत्तारुढ पीएमएल एनले आफ्नो अस्तित्व खतरामा परेको महसुस गरेको र आफ्नो प्रमुख प्रतिद्वन्द्वीविरुद्ध जुनसुकै हदसम्म जाने बताए ।

पीटीआई नेता असद उमरले यो बयानमा आफ्नो प्रतिक्रिया दिए। असदले भने, “अदालतले यस विषयमा ध्यान दिनुपर्छ।”

गत वर्ष नोभेम्बरमा पञ्जाबको वजिराबादमा इमरान खानमाथि आक्रमण भएको थियो । त्यसपछि उनले राणा सनाउल्लाहमाथि आरोप लगाए । उनले पाकिस्तानका प्रधानमन्त्री र धेरै अधिकारीहरूलाई पनि आरोप लगाए।

सनाउल्लाहले इमरान खानको भनाइका कारण दुवै पार्टीका समर्थकबीच मतभेद उत्पन्न भएको बताए ।

पाकिस्तानको अखबार डनले उनलाई उद्धृत गर्दै भनेको छ, “कि त उनी वा हामी (एक अर्काका समर्थकहरू मार्फत) मारिन सक्छौं ।”

यस्ता अभिव्यक्तिले पाकिस्तानमा अराजकता निम्त्याउन सक्छ भन्ने प्रश्नमा गृहमन्त्री राणा सनाउल्लाहले पाकिस्तानमा पहिलेदेखि नै अराजकताको अवस्था रहेको बताए ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज (सोमबार) इस्लामावाद उच्च अदालतमा उपस्थित हुने भएका छन् । उनी लाहोरबाट इस्लामावाद जाँदैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *