चैत १७ देखि २० गतेसम्म काठमाडौंमा फ्लोरा एक्स्पो

डिसी नेपाल
१३ चैत २०७९ १९:५६

काठमाडौं। पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि भन्दै फ्लोरिकल्चर एशोसियशन नेपालले यही चैत १७ देखि २० गतेसम्म काठमाडौँमा ‘२४औँ फ्लोरा एक्स्पो’ आयोजना गर्ने भएको छ।

एशोसियशनले आज पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपमा आयोजना गरिने मेलाबारे जानकारी दिएको हो।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

मेलामा ६२ व्यावसायिक स्टल, तीन ल्यान्डेस्केपिङ स्टल, १० अफिसियल स्टल, तीन प्रतियोगितात्मक प्रदर्शनी स्टल र दुई फुड स्टल रहने जनाइएको छ।

मेलामा मौसमी फूल, कट् फ्लावर, ड्राईफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलका बीउबिजन, ग्रीन हाउस, कृषि औजार, विषादी, प्याकेजिङ सामग्रीलगायत स्टल रहनेछन्।

पुष्प नर्सरी, आपूर्तिकर्ता कम्पनी, व्यावसायिक तथा विभिन्न सङ्घसंस्थाका साथै भारत र बङगलादेशका पुष्प व्यवसायी पनि मेलामा सहभागी हुने आयोजकको भनाइ छ।

मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल बिरुवाबीच प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिने जनाइएको छ।

पुष्पजन्य वस्तुको बजारीकरण, यस क्षेत्रसँग सम्बन्धित नयाँ ज्ञान तथा सीप, बजारको अवस्थालगायतका विषयमा जानकारी लिनका लागि यो मेला उपयुक्त अवसर रहेको एशोसियशनले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *