इजरायलमा विरोधको बीच सत्ता साझेदार पार्टीले भन्यो – न्यायिक प्रणालीमा परिवर्तन अर्को महिनासम्म स्थगित
काठमाडौं । इजरायलको सत्तारुढ गठबन्धनमा रहेको पार्टी जुइश पावरले देशको न्यायिक प्रणालीमा प्रस्तावित परिवर्तनसम्बन्धी वार्ता अर्को महिनासम्मका लागि स्थगित गरिएको बताएको छ।
यद्यपि देशका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यसबारेमा हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । इजरायलको अति दक्षिणपन्थी गठबन्धन सरकारको हिस्सा रहेको जुइश पावर पार्टीले यो निर्णय गरेको हो।
यो प्रक्रिया अब संसद्को अर्को अधिवेशनमा टुङ्गिने पार्टीले विज्ञप्तिमार्फत जनाएको छ । इजरायलको संसद अर्को हप्ता बिदामा हुनेछ। जुइश पार्टीका नेता बेन गेभिरले सरकारले घोषणा गरेको समयावधिलाई समर्थन गर्ने बताएका छन्।
प्रधानमन्त्री नेतन्याहुको आगामी अधिवेशनमा यी प्रस्तावहरू संसदमा राख्ने प्रतिबद्धताका कारण आफूहरू सहमत भएको पार्टीले जनाएको छ । तर नेतान्याहुबाट अहिलेसम्म कुनै बयान आएको छैन।
इजरायलमा हजारौं मानिस सरकार विरोधी प्रदर्शनमा सहभागी भइरहेका छन् । यसलाई देशको इतिहासकै सबैभन्दा ठूलो आन्दोलन भनिएको छ ।
इजरायली सरकारले देशको न्यायिक प्रणालीमा ठूलो परिवर्तनको योजना प्रस्ताव गरेको छ, जसपछि विगत १० हप्तादेखि देशमा विरोध प्रदर्शन भइरहेको छ।
हाइफा जस्ता शहरहरूमा सरकारको विरुद्धमा प्रदर्शनकारीहरू रेकर्ड स्तरमा सडकमा उत्रिएका छन्, जबकि राजधानी तेल अवीभमा करिब २ लाख मानिसहरूले यी प्रदर्शनहरूमा भाग लिएका छन्।
सरकारको प्रस्तावित परिवर्तनले देशको लोकतन्त्रलाई कमजोर बनाउने आलोचकहरू बताउँछन् । कानुन परिमार्जनको घोषणा भएपछि प्रदर्शनको तिब्रता कम हुने अपेक्षा गरिएको छ ।







डिसी नेपाल







Facebook Comment