सामुदायिक वन समूह खोटो सङ्कलन गर्दै
घोराही। दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिँदैछ। वन समूहबाट यस वर्ष करिब रु नौ लाख ३९ हजार बराबरको ७८ हजार दुई सय ५६ किलो खोटो सङ्कलन गरिएको छ।
डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार खरिद गर्ने कम्पनीले समूहबाट प्रतिकिलो रु १२ र निकासी कर प्रतिकिलो रु १२ राजस्व तिर्ने गरेका छन्। “वन समूहबाट वार्षिकरुपमा सल्लाको खोटो निकाल्ने काम भइरहेको छ”, उनले भने।
जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले खोटो बिक्री गरेर वार्षिक लाखौँ आम्दानी गर्दैआएका छन्। तर बोक्रा ताछेर सल्लाको रुखबाट खोटो निकाल्दा रुख गर्न थालेका स्थानीयले बताएका छन्।
वन समूहले खोटो बिक्री गरेर भएको आम्दानीबाट सामाजिक कार्यमा खर्च गर्ने गरेका बङ्गलाचुली गाउँपालिका–८ स्थित ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले जानकारी दिए। सो वन समूहले यस वर्ष करिब रु दुई लाख ५० हजारको खोटो बिक्री गरेको छ।
उक्त वन समूहबाट दीपमाला रोजिन टर्पिनटाइन कम्पनी, बाँकेले प्रतिकिलो रु १२ का दरले खोटो खरिद गर्दैआएको छ। वन समूहका सचिव गाहामगरका अनुसार ओखलढुङ्गा सामुदायिक वन समूहले यस वर्ष करिव २२ हजार पाँच सय किलो खोटो बिक्री गरेको छ।
वन समूहले अनुमति दिएपछि कम्पनीले खोटो सङ्कलन गर्छ। खोटो मात्र निकाल्दा रुखलाई फरक नपर्ने भए पनि सुक्खा समयमा डढेलो लाग्दा रुखलाई असर गर्ने गरेको छ। “रुखबाट कम्तीमा आठ–नौ वर्षसम्म निरन्तर खोटो निकाल्न सकिन्छ । आगोले भेटे रुख मर्छ”, उनले भने, “खोटो निकाल्दैमा रूख केही हुँदैन, आगोबाट भने बचाउनु पर्छ।”
त्यसैगरी वडा नं ८ कै गोगनपानी समुदायिक वन समूहले खोटो बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष मुक्तिराम गाहामगर बताउँछन्। सल्लाको रुखबाट वैशाख–जेठदेखि मङ्सिर–पुससम्म खोटो सङ्कलन गर्ने गरिन्छ। “चिसो मौसममा खोटो कम निस्किन्छ, गर्मी याममा खोटो सङ्कलन गरिन्छ”, उनले भने। बङ्गलाचुली–८ मा ओखलढुङ्गा, गोगनपानी र दैलेढुङ्गा सामुदायिक वन समूहले खोटो सङ्कलन गर्दैआएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment