विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ

डिसी नेपाल
१६ चैत २०७९ ११:३१
80
Shares

काठमाडौँ। विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १७ वर्षीया किशोरी र कञ्चनपुर भिमदत्त नगरपालिका-६ बस्ने १८ वर्षीय किशोर रहेका छन्। प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

सुनसरी, इटहरी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका-६ बस्ने ३२ वर्षीय लक्ष्मीप्रसाद ढकाल र सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने २३ वर्षीय बिनोद श्रेष्ठ रहेका छन्।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूको साथबाट प्रदेश-१-०२-०४७ प ७८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

सिरहा, मिर्चैया नगरपालिका-६ कटारी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम ५३ मिलिग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका-६ बस्ने २५ वर्षीय जितेन्द्र साह, सोही नगरपालिका-१० बस्ने २५ वर्षीय ललित कुमार राम र सोही नगरपालिका-३ बस्ने २४ वर्षीय देवन यादव रहेका छन्।

ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले मधेश प्रदेश ०१-००४ प २५६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

सर्लाही, बलरा नगरपालिका-१ हथियौलबाट अवैध लागूऔषध गाँजा करिब २० केजी बुधबार राति प्रहरीले बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय बलराबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलका चालकले मोटरसाइकल छोडी फरार भएपश्चात प्रहरीले मोटरसाइकल तलासी गर्दा उक्त लागूऔषध फेला परेको हो। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *