मान्द्रा बुनेरै जीविकोपार्जन

डिसी नेपाल
२२ चैत २०७९ ७:४५
296
Shares

चौतारा। जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार। शिरमा ढाकाटोपी, खुट्टामा चप्पल। बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गर्छन् सिन्धुपाल्चोकको जुगल गाउँपालिका-१ लामिडाँडाका ग्याल्बो शेर्पा।

उमेरले ७० टेकेका शेर्पा सानैदेखि डोको र डाला बनाउन सक्रिय रहँदै आएका छन्। जब गाउँमा कसैको बिहे हुन्छ, कोसेली लैजानका लागि प्रयोग गरिने डोको, फुवा तथा डालो बनाउने जिम्मा स्थानीयले उनलाई दिने गर्छन्।

वृद्धा अवस्था लाग्दा पनि शेर्पा आफ्नो पेसालाई नछोडी युवा जस्तै सक्रिय रही आफ्नो कर्म गर्दै आएका छन्। ‘डोको बनाउँदा दिन बितेको पत्तै पाउँदैन, एक दिनमा चार वटासम्म डोको बनाउन सक्छु’, उनले भने।

शेर्पासँग डोको, डालो र मान्द्रा बनाउने सीप भए पनि बजारको अभाव छ। माग नहुँदा बिक्री गर्न समस्या भएको उनको भनाइ छ। शेर्पाले १६ वर्षको उमेरदेखि नै डालो बुन्न थालेका हुन्।

घरमै आएर किसानले मान्द्रा किन्न थालेपछि उनको व्यस्तता बढेको हो। मान्द्रा बिक्री गरेर शेर्पाले घर खर्च मात्र टार्दै आएका छैनन्, आफ्ना छोराछोरीलाई सदरमुकाम चौतारा राखेर पढाउने खर्चको जोहो गर्दै आएका छन्।

आम्दानीको अन्य स्रोत नभएको र मान्द्रा बुनाइ नै आफ्नो आम्दानीको स्रोत भएको उनको भनाइ छ। धान विटा लगाउने मौसम भएकाले पनि यो बेला भकारी बनाउनका लागि मान्द्राको माग अत्याधिक हुने गरेको छ। एउटा मान्द्रा तयार गर्न झण्डै तीन दिन लाग्छ। मान्द्रा दुई हजार दुई सयमा बिक्री हुने गरेको शेर्पा बताउँछन्।

मान्द्रा बनाउन चाहिने निगालो स्थानीय जंगलबाट निःशुल्क उपलब्ध हुन्छ। अरु बेलामा त्यति बिक्री नभए पनि कोदो र धान भित्र्याउने बेलामा भने मान्द्राको माग अत्यधिक हुने गरेको सो वडाका कर्मा स्याङ्बो बताउँछन्। उनी पनि मान्द्रा बुनेर बेच्छन्।

‘उमेरमा यस्तै सिकियो, यसबाटै परिवारको खर्च धानेको छु’, उनले भने, ‘छोराछोरीले सिक्न छाडेका छन्। कसरी पुस्ता धानिएला भन्ने चिन्ता छ ।’ युवा पुस्ता विदेश जान थालेकाले सीप हराउने चिन्ता छ।

अन्न उब्जाउन जमिन छैन। कमाउन अरु इलम छैन। यहाँका अधिकांशले आलु खेती गर्दै आएका छन्। आलु खेतीबाट स्थानीय आत्मनिर्भर बन्न सकेका छैनन्।

मकै र कोदो खेतीमा निर्भर रहँदै आएका यहाँका स्थानीय बँदेललगायत जंगली जनावारले दुःख दिँदा हैरान छन्। आलु खेतीको राम्रो सम्भावना भएकाले ‘आलु पकेट क्षेत्र’का रुपमा विकास गर्न सके स्थानीयलाई आत्मनिर्भर बनाउन सकिन्छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *