दुबै खुट्टा नभएका हरि बुढामगर सगरमाथा आरोहण गर्दै

डिसी नेपाल
२२ चैत २०७९ १२:४८
1.1k
Shares

काठमाडौं । शारीरिकरुपमा अशक्त हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। पूर्वगोरखा सैनिकसमेत रहेका उनी सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट आरोहण अनुमति लिएर सोलुखुम्बु प्रस्थान गरेका छन्।

विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार बुढामगरले सगरमाथा आरोहणका लागि केही दिनअघि आरोहण अनुमति लिएका थिए ।शारीरिकरूपमा अशक्त बुढामगर आरोहणका लागि आवश्यक प्रक्रिया पूरा गरेर सगरमाथातर्फ प्रस्थान गरेको उनले बताए ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका उनका दुबै खुट्टा छैनन् । बुढामगरले कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन्। कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने उनी पहिलो व्यक्तिसमेत हुन्।

लामो प्रतिक्षापछि सगरमाथा आरोहणका लागि जान अनुमति पाउँदा खुशी लागेको र निकै उत्साहका साथ आरोहणमा निस्किएको बताएको बुढामगरको भनाइ उद्धृत गर्दै विभागका महानिर्देशक लुइँटेलले बताए।

सन् २०१० मा अफगानिस्तानको लडाइँमा बुढामगरले दुवै खुट्टा गुमाएका थिए। घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने उनी पहिलो व्यक्ति भएको बताइन्छ । बुढामगरले मोन्ट ब्लाङ(४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो(५,८९५ मिटर) र मेरा पिक (६,४७६ मिटर) हिमाल आरोहण गरिसकेका छन्।

वसन्त ऋतुका बेला सगरमाथासहित हिमाल तथा चुली आरोहणका लागि अहिले धमाधम आरोहीले आरोहण अनुमति लिइरहेका छन् । विभागको पवर्तारोहण शाखाका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मङ्गलबारसम्म १२ आरोही समूहका १७ महिला र ८३ पुरुषसहित एक सय आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथासहित विभिन्न हिमाल तथा चुली आरोहणका लागि हालसम्म ३६ आरोही समूहका ५३ महिला र दुई सय १७ पुरुषसहित दुई सय ७० ले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

सगरमाथापछि अन्नपूर्ण हिमाल आरोहणका लागि पाँच, मनास्लु आरोहणका लागि चार र ल्होत्से आरोहणका लागि तीन आरोही समूहले हिमाल आरोहणको अनुमति लिएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *