पर्साका तत्कालीन मालपोत प्रमुखसहित चार जनाविरुद्ध ९५ लाखको भ्रष्टाचार मुद्दा

डिसी नेपाल
२८ चैत २०७९ १७:५२
164
Shares

काठमाडौं। मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुख प्रकाश पोखरेलविरुद्ध ९५ लाख आठ हजार ३४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख पोखरेलले आफ्नो कार्यकालमा आर्थिक वर्ष २०७२\७३ मा सङ्कलन भएको राजस्व रकम ९३ लाख ६६ हजार २०९ रुपियाँ हिनामिना भएको आरोप लागेको छ।

रकम हिनामिनामा प्रतिवादी मदनप्रसाद गुप्तालाई प्रोत्साहन गरी राजस्व दुरुस्तरुपमा दाखिला नगराएको देखिएको विज्ञप्तिमा उल्लेख छ।

कार्यालयका तत्कालीन कार्यालय प्रमुख गमबहादुर विश्वकर्माले सोही आर्थिक वर्षमा अनुगमन गर्नुपर्नेमा कुनै पनि अनुगमन नगरेको र कार्यालयमा सङ्कलन भएको एक लाख ४१ हजार ८२५ रुपियाँ राजस्व हिनामिना भएको आयोगले जनाएको छ।

यसैगरी, कार्यालयका तत्कालीन नायब सुब्बा मदनप्रसाद गुप्ताले राजस्वको विस्तृत विवरणसहित लेखा शाखामा बुझाउने रकम निजले ९५ लाख आठ हजार ३४ रुपियाँ हिनामिना गरी चुहावट गरेको पुष्टि भएको छ। तत्कालीन लेखापाल नागेन्द्रप्रसाद चौधरीले कानुनी व्यवस्था विपरीत रकम हिनामिनामा मद्दत पुर्‍याएको आरोप छ।

आरोपितमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *