कमाण्ड तथा स्टाफ तालिममा छ विदेशीसहित ६२ सहभागी

डिसी नेपाल
४ वैशाख २०८० २१:२४
104
Shares

काठमाडौं। शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा ३०औँ समूहको कमाण्ड तथा स्टाफ तालिम आजदेखि सुरु भएको छ।

बलाध्यक्ष रथी सिताराम खड्काले शुभारम्भ गर्नुभएको तालिममा छ विदेशीसहित ६२ अधिकृत सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

मध्यम तहका अधिकृत स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण मानिएको तालिममा सेनाका एक महिलासहित ५३, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट एक÷एक अधिकृत सहभागी छन्।

भारत, पाकिस्तान, केन्या, कोरिया, माल्दिभ्स र नाइजेरियाका एक÷एक जना प्रशिक्षार्थी तालिममा सहभागी छन् । सेनाको उच्च तहसम्म पुग्न यो तालिम अनिवार्य मानिँदै आएको छ।

कलेजले विसं २०५० भदौ २० गते १२ शिक्षार्थी अधिकृत समावेश गरी पहिलो पटक कमाण्ड तथा स्टाफ तालिम शुभारम्भ गरेकोमा सन् २०१० बाट विदेशी शिक्षार्थी सहभागी गराइँदै गएको छ।

कलेजबाट हालसम्म सेनाका एक हजार एक सय २०, नेपाल प्रहरीका १४, सशस्त्र प्रहरी बल नेपालका २६, राष्ट्रिय अनुसन्धान विभागका १७, रक्षा मन्त्रालयका एक र विदेशी १०८ शिक्षार्थी अधिकृत प्रशिक्षित भइसकेको निर्देशनालयले जनाएको छ।

तालिम शुभारम्भका अवसरमा रथी खड्काले प्रविधिको विकाससँगै विविध क्षेत्रमा भइरहेको तीव्र एवं व्यापक परिवर्तनले सुरक्षा चुनौतीमा वृद्धि भएकाले त्यसलाई सामना गर्न तयार रहनुपर्ने बताए।

कलेजका शिक्षाधिकृत उपरथी सन्तोषकुमार ढकालले परम्परागत सैनिक कारबाहीलगायत सेनाले निर्वाह गर्नुपर्ने बहुआयामिक जिम्मेवारीका लागि योजना तथा कार्यान्वयन सक्ने जनशक्ति तयार गर्न तालिममा विविध विषयवस्तु समेटिएको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *