एमसिए-नेपालको प्रसारण लाइनले नुवाकोटमा ५० बस्ती प्रभावित

डिसी नेपाल
९ वैशाख २०८० १९:५५
148
Shares

त्रिशूली। मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)मार्फत काठमाडौँको लप्सेफेदीबाट नुवाकोटको रातमाटे हुँदै हेटौँडा र तनहुँतर्फ लैजाने प्रसारण लाइन विस्तारले प्रभावित बन्ने बस्तीको प्रारम्भिक सूची प्रकाशित भएको छ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)मार्फत निर्माण गर्न लागिएको प्रसारण लाइनका लागि गाड्नुपर्ने खम्बा र विस्तार गरिने तारको दायाँबायाँतर्फ प्रभावित बनाउने बस्तीको प्रारम्भिक सूची प्रकाशन गरिएको ‘प्रारम्भिक कारबाही अधिकृत’ हरिकृष्ण उप्रेतीले जानकारी दिए।

उनका अनुसार अमेरिकी सहयोग अनुदानअन्तर्गतको एमसिसीमार्फत निर्माण गर्न लागिएको आयोजनाको नेपालको सरकारी निकाय एमसिए–नेपालमार्फत प्रसारण लाइन निर्माणको क्रममा प्रभावित हुने बस्तीको विवरण सार्वजनिक गरिरएको हो।

प्रकाशित सूचीअनुसार नुवाकोटको बेलकोटगढी नगरपालिकासहित शिवपुरी, पञ्चकन्या, लिखु र तारकेश्वर गाउँपालिकाका १८ वडाका ५० वटा बस्ती प्रत्यक्ष प्रभावित हुने उल्लेख छ।

“काठमाडौँको लप्सेफेदीबाट नुवाकोटको रातमाटे (बेलकोटगढी–७) सम्म चार सय केभी डबल सर्किटको प्रसारण ल्याइनका क्रममा निर्माण गरिने खम्बा र प्रसारण लाइनको दायाँबायाँ क्षेत्रमा प्रभावित बनाउने प्रारम्भिक बस्तीको विवरण सार्वजनिक गरिएको हो।”

प्रारम्भिक कारबाही अधिकृत उप्रेतीले भने, “रातमाटे (सबस्टेशन)बाट एक लाइन नुवाकोटको कोल्पुटार (बेलकोटगढी–५) हुँदै हेटौँडातर्फ र अर्को लाइन नुवाकोटको तारुका (तारकेश्वर–२) हुँदै धादिङबाट तनहुँ पुर्‍याएर त्यहाँबाट बुटवल लैजान प्रसारण लाइन निर्माण गर्न लागिएको छ।”

प्रसारण लाइन विस्तारका क्रममा आवश्यक पर्ने जग्गाको जग्गाधनीलाई खम्बा गाड्ने ठाउँको मुआब्जा र प्रसारण लाइनको दायाँबायाँ २३–२३ मिटर दूरीसम्म क्षतिपूर्ति दिनका लागि प्रभावित हुने बस्तीको सूची सार्वजनिक गरेर सर्वेक्षण सुरु गर्न लागिएको एमसिए–नेपालका कार्यकारी निर्देशक खङ्गबहादुर विष्टले जानकारी दिए।

उनका अनुसार नुवाकोटमा करिब ५३ किमी प्रसारण लाइन निर्माणका क्रममा एक सय ४७ वटा टावर गाड्नुपर्ने देखिएको छ। उक्त क्रममा जिल्लाको पाँच पालिकाको १८ वडाका ५० वटा बस्ती प्रत्यक्ष प्रभावित हुने देखिएको हो।

“प्रभावित पालिकाको वडा र बस्ती किटान गरेर प्रारम्भिक सूची प्रकाशन भएसँगै अब निजी स्वामित्वको जग्गा सर्भे सुरु गर्न लागिएको छ”, कार्यकारी निर्देशक विष्टले भने, “सर्भेका लागि खटिएका प्राविधिक कर्मचारीलाई सहयोग पुर्‍याएर समयमा नै कार्य सम्पन्न गर्नका लागि स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहन्छ।”

उक्त आयोजनाअन्तर्गत सबस्टेशन निर्माण र प्रसारण लाइन विस्तारका क्रममा प्रभावित हुने बासिन्दाका लागि एमसिए–नेपालले बेवास्ता गरेको भन्दै यहाँका स्थानीय तह र प्रभावित बासिन्दा भने असन्तुष्ट छन्।

सबस्टेशन निर्माणका लागि आवश्यक जग्गा खरिदको काम पूरा भइसकेको छ भने प्रसारण लाइन विस्तारका क्रममा खम्बा गाड्न चाहिने जग्गा खरिद र तार विस्तारबाट प्रभावित हुने क्षेत्रमा दिइने क्षतिपूर्ति निर्धारण बैठकलाई पालिकाहरूले बहिष्कार गर्दै आइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *