कपन हत्या प्रकरण : एआइजीको नेतृत्वमा अनुसन्धान समिति गठन

काठमाडौँ । काठमाडौँको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्याको छानविन तथा अनुसन्धान गर्न प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) को नेतृत्वमा ११ सदस्यीय समिति गठन भएको छ ।
सो समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसी, काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्की र ब्यूरोकै एसएसपी दिनेश आचार्य, महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी हरि बस्नेत लगायत रहेका छन् ।
कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते मध्याह्नको समयमा भाँडा व्यवसायी पाण्डेको चक्कु प्रहारबाट विभत्स हत्या भएको थियो । उनको हत्या भएको विषयमा संसदमा समेत प्रश्न उठेको थियो । काठमाडौ प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालय दुवैले अपराधीको खोजी गरेपनि पक्राउ गर्न सकेका छैनन ।
बैशाख ७ गते अपराह्न २ देखि ३ बजेभित्रको समयमा पसलमा बसिरहेका बेला ३५ वर्षीया पाण्डेको हत्या भएको थियो । बागलुङ घर भएकी नीराले त्यहाँ झन्डै एक दशकदेखि भाँडा पसल सञ्चालन गर्दै आएकी थिइन् । उनको हत्या भएपनि प्रहरीले त्यस वरिपरीका सिसीटिभी अनुसन्धान गरिरहेको छ । साथै शंकित व्यक्तिहरुलाई पनि अनुसन्धानको घेरामा राखेको छ ।
Facebook Comment