गलवान हिंसापछि भारत र चीनका रक्षामन्त्रीबीच पहिलो पटक भेट

डिसी नेपाल
१६ वैशाख २०८० १०:३६
216
Shares

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले बिहीबार नयाँ दिल्लीमा चीनका स्टेट काउन्सिलर र रक्षामन्त्री ली साङ्फुसँग भेट गरेका छन्।

भेटमा दुवै देशको सीमावर्ती क्षेत्रमा द्विपक्षीय सम्बन्धको विकासका विषयमा खुलेर छलफल भएको थियो । प्रेस सूचना ब्यूरो (पीआईबी) ले आफ्नो वेबसाइटमा जारी प्रेस विज्ञप्तिमा यो जानकारी दिएको हो।

यसका अनुसार राजनाथ सिंहले यस भेटमा स्पष्ट रूपमा भने कि दुई देशबीचको सम्बन्धको विकास दुवै देशको सीमामा शान्ति र धैर्यतामा निर्भर छ।

राजनाथ सिंहले चीनसँगको भारतको वास्तविक नियन्त्रण रेखासम्बन्धी समस्यालाई दुई देशबीचको विद्यमान सम्झौता र प्रतिबद्धताअनुसार समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले विद्यमान सम्झौताको उल्लंघनका कारण दुई देशबीचको सम्बन्धको आधारमा क्षति पुगेको बताए ।

शुक्रबार राजधानी दिल्लीमा शाङ्घाई सहयोग संगठनका रक्षामन्त्रीहरूको बैठकमा सहभागी हुन चीनका रक्षामन्त्री ली साङ्फु बिहीबार यहाँ आएका छन् ।

सन् २०२० मा सीमा विवादका कारण गलवान उपत्यकामा भएको हिंसापछि चीनका रक्षामन्त्रीले पहिलो पटक भारतको भ्रमण गरेका छन् ।

चीनको रक्षा मन्त्रालयले मंगलबार ली साङ्फुले सम्मेलनलाई दिल्लीमा सम्बोधन गर्ने बताएको छ ।

उनले सम्बन्धित देशका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भेट गर्नेछन् । यस भ्रमणमा उनले अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलाका साथै रक्षा र सुरक्षा सहयोगका विषयमा छलफल गर्नेछन् ।

दुई देशका सेनाबीचको १८औँ चरणको वार्तापछि चीनका रक्षामन्त्रीको भारत भ्रमण भएको हो ।

भारत सन् २०२३ मा सांघाई सहयोग संगठनको अध्यक्ष बनेको छ । यस सम्मेलनमा सहभागी हुन रुसी रक्षामन्त्री सर्गेई शोइगु पनि दिल्ली आउँदैछन् ।

एससीओको स्थापना सन् २००१ मा चीन, रुस र चार मध्य एसियाली देशहरुको सहयोगमा नेटो जस्ता पश्चिमी गठबन्धनहरुको सामना गर्नको लागि भएको हो । भारत र पाकिस्तान सन् २०१७ मा यसको सदस्य बनेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *